तपाईँ सुन्दै हुनुहुन्छः

परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले कर्मचारीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालय सम्बद्ध आयोजनामा रहेका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उहाँले परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी गोष्ठीमा उहाँले मनदेखि नै काम गर्न आयोजनाका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

मन्त्रालयले गत आर्थिक वर्षमा अपेक्षाअनुसार पूँजीगत खर्च गर्न नसकेको बताउँदै मन्त्री गुरुङले यस आर्थिक वर्षमा लक्ष्यअनुसारको पूँजीगत खर्च बढाउनका लागि आयोजनाका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले रुग्ण आयोजनाहरूमा अब धेरै अलमलिन नहुने बताउँदै काम नगर्ने निर्माण व्यवसायीहरूसँग ठेक्का तोडेर अघि बढ्न निर्देशन दिनुभयो ।

सहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक वर्षमा रु ३८ अर्ब ९५ करोड ७९ लाख चार हजार विनियोजन भएकामा ५९ प्रतिशत वित्तीय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस आर्थिक वर्षमा विभागका लागि रु २९ अर्ब ५७ करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button