विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार पार्दै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार गर्न निरन्तर तालिम भइरहेको छ । पछिल्लोपटक पुनः चार दिने प्राथमिक उपचार तालिम गरिएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) ले विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार गर्न शिक्षक, सामाजिक अगुवा, युवा क्लबका सदस्यलाई आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्धार सम्बन्धि तालिम दिइरहेको हो । खोज तथा उद्धार ४, आगलागी नियन्त्रण ५ र प्राथमिक उपचारका ५ वटा तालिम सञ्चालन गरिनेछ ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगी संयोजक रहेको तालिममा निरञ्जना मल्ल, झविलाल शर्मा, प्रल्हाद विश्वकर्मा र सुशील चौधरीले सहजीकरण गर्नुभएको थियो । प्राथमिक उपचार सम्बन्धि चार दिने तालिमको समापनको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले सहभागीलाई प्रमाणपत्र र फस्ट एड किट वितरण गर्नुभएको थियो । त्यस क्रममा बोल्दै उपप्रमुख राईले सुपरले सराहनीय कार्य गरिरहेको बताउँदै वडा नम्बर ३ र ७ लाई कार्य क्षेत्र बनाइरहेको सुपरलाई दायरा बढाउन आग्रह गर्नुभयो ।

तालिम समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगी लगायतले बोल्नुभएको थियो । समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपत् समिति संयोजक समिरप्रताप सिंह लगायत उपस्थित हुनुहुन्थ्यो ।
तालिममा प्राथमिक जाँच र सिपिआर प्रक्रिया, घाइतेको हातबाट भएको ठूलो रक्तस्राव र क्षोभ, गाडिएको घाउ, रोलर पट्टी बाँध्ने उपायहरूका विषयमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी, दमकल कर्मचारी, वडा नम्बर ३ र ७ का विद्यालयका शिक्षक, सामुदायिक अगुवा र युवा क्लबका गरी २३ जनाको सहभागिता रहेको थियो । सुपर प्रोजेक्टले नेपालगञ्जमा आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्धारको १४ वटा तालिमबाट चार सय जना दक्ष स्वयंसेवक तयार गर्ने आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्