तपाईँ सुन्दै हुनुहुन्छः

झापामा सशस्त्र प्रहरीमाथि ढुंगामुढा र हातपात गर्ने एकजना पक्राउ, तीनजना फरार

भद्रपुर, झापा । झापामा एक महिनाअघि सशस्त्र प्रहरीमाथि ढुंगामुढा र हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा झापा गाउँपालिका– १ स्थित रसुनगन्ज निवासी जितेन यादव रहेका छन् । घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीनजना अझै फरार रहेको प्रहरीले जनाएको छ । 

ड्युटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चारजनाको समूहले करिब एक महिनाअघि ढुंगामुढा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए । त्यसपछि सशस्त्रले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।

सोही जाहेरीको आधारमा यादवलाई सोमबार पक्राउ गरिएको र घटनामा संलग्न चन्द्रमोहनलगायत तीनजना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रहरीले यादवविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको डिएसपी रिजालले बताउनु भयो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट टाघनडुब्बाले झापा–१ रसुनगन्जस्थित नेपाल–भारत सीमा नजिकबाट असार ३० गते राति भारत लैजाँदै गरेको १६८ बोतल मदिरा बरामद गरेको थियो । 

सो मदिरा स्थानीय चन्द्रमोहनले मे २ प ७७६६ नम्बरको मोटरसाइकलमा हालेर भारततर्फ लगिरहेका थिए । मदिरा बरामद गरेपछि चन्द्रमोहनले घरका अन्य सदस्यहरूलाई घटनास्थलमा बोलाएर सशस्त्र प्रहरी चढेको गाडीमा ढुंगामुढा गर्दै हातहतियारसमेत खोस्ने प्रयास गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button