तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र प्रदान गरिने

रुकुम पश्चिम । रुकुम पश्चिमबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र प्रदान गरिने भएको छ ।  

रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमति पत्रका लागि अनलाइन आवेदन फारम खुला गरेसँगै जिल्लाबाटै चालक अनुमतिपत्र वितरण हुन लागेको हो । 

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईका अनुसार सवारी चालक अनुमतिपत्र इच्छुकले यातायात व्यवस्था विभागको अनलाइनमा गएर फारम भर्न सक्नेछन् । 

अनलाइन फारम भरेकाहरूको बायोमेट्रिक समेत साउन दोस्रो हप्ताबाट हुनेछ भने त्यसपछि अन्य प्रक्रियाहरू पनि क्रमिक रुपमा सञ्चालन हुने कार्यालयले जनाएको छ । 

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो ।

कर्मचारी अभाव लगायतको कारण देखाउँदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो । यसअघि कार्यालयले सवारी दर्ता, नामसारी, कर असुल, ब्लु बुक नवीकरण लगायतका सेवा दिइरहेको थियो । 

जिल्लामा यातायात कार्यालय नहुँदा यसअघि रुकुम पश्चिमका नागरिक यस सेवाको लागि दाङ, सुर्खेत तथा नेपालगञ्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button