तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा प्रहरी नायव उपरीक्षक यादवमाथि आक्रमण

बर्दिबास । महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षकमाथि आक्रमण भएको छ । प्रदेश प्रहरी गण धनुषामा कार्यरत प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवमाथि आक्रमण भएको हो ।

गएको बिहीबार राति १० बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी नायव उपरीक्षक यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । उहाँको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

यता घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ । टोलीले शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो ।

घटनाको छानबिन भइरहेकोले अहिले केही भन्न नमिल्ने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका छानबिन टोलीका संयोजक प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button