वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा सम्बद्ध पक्षसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले आज वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा सम्बद्ध पक्षसँग छलफल गरेको छ ।
समितिको सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटले लिएको आर्थिक वृद्धिलगायतका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभयो ।
उहाँले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको र कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताउनुभयो ।
उहाँले बैङ्कको ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको र अब घट्दै जाने अनुमान रहेको बताउनुभयो ।
गभर्नर अधिकारीले बैङ्किङ क्षेत्र सुरक्षित रहनुपर्ने र बचतकर्ताको बचत पनि तलमाथि हुनु नहुनेमा जोड समेत दिनुभयो ।
उहाँले भुक्तानी सन्तुलन र विदेशी विनिमयमा गत वर्ष भएको घाटा पूर्ति गरी सहज अवस्थामा आएको, वित्तीय क्षेत्र रिकभरीमा केही समस्या रहेको र बजारमा शिथिलताका कारण वित्तीय रिकभरीमा समस्या परेको समेत बताउनुभयो ।
बैठकमा सांसदहरुले मौद्रिक नीतिका विषयमा आम नागरिकलाई बुझाउनु जरुरी रहेको , उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने, सङ्कटमा रहेको अर्थतन्त्र उकास्ने गरी मौद्रिक नीति आउनु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले ग्रामीण भेगमा रहेका कृषकहरूसम्म बैंकले ऋण दिने व्यवस्था गर्नु पर्ने, बैङ्कबाट आम नागरिकले सहज रुपमा ऋण पाउनु पर्ने, सरकारी कार्यालय र निकायहरूले बैङ्कमा फिक्स डिपोजिटमा पैसा राख्ने कुरालाई रोक्नु पर्ने, सहकारीहरूलाई पनि नियामक निकाय अन्तर्गत ल्याएर व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकले विश्वको घट्दो आर्थिक वृद्धिदर सन् २०२४ मा मात्र केही सुधार आउने जनाएको छ ।
राष्ट्र बैंकले विश्वको मूल्यवृद्धि दर सुधार हुने क्रममा रहेको भएपनि अझै उच्च रहेको, विश्वका केन्द्रिय बैङ्कहरूले मौद्रिक नीतिको कसिलो कार्यदिशालाई यथावत् राखेको, नेपालको नीतिगत दर ७ प्रतिशत र बैङ्क दर ७.५ प्रतिशत रहेको जनाएको छ ।
यसैगरी, चालु आर्थिक वर्षमा गैर कृषि क्षेत्रको आर्थिक वृद्धिदर कम रहने देखिएको, थोक तथा खुद्रा व्यापार, निर्माण र उत्पादनमूलक उद्योगहरूको उत्पादन घट्ने अनुमान राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढिरहेका कारण विप्रेषण आप्रवाहमा सुधार भएपनि आन्तरिक मागमा कमी आएको पनि जनाएको छ ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दो क्रममा रहेकाले नेपालमा पनि इन्धनको मूल्य घटी यातायात भाडा केही समायोजन भएको र मूल्य थप घट्दै जाने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले विगतमा गरिएका नीतिगत उपायहरूले बाह्य क्षेत्रमा सुधार आएको, शोधनान्तर बचत भएसँगै विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य सुधार भएको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्