तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा मत्स्य प्रवर्द्धन केन्द्रको जमिन अतिक्रमणमा

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको करोडौँ मूल्य बराबरको जमिन  अतिक्रमणमा परेको छ । सो कार्यालय मातहतमा रहेको ४९ हेक्टर जमिनमध्ये १३ बिघा, १३ कट्ठा, १० धुर जमिन अतिक्रमण गरी संरचनासमेत निर्माण भएको कार्यालयद्वारा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अतिक्रमित जमिन उपलब्ध गराउन र भौतिक संरचना हटाउन जिल्ला प्रशासन कार्यालयमा हेटौँडामा लिखित रूपमा जानकारीसमेत गराइएको कार्यालय प्रमुख सरोज  यादवले बताउनुभयो । अतिक्रमित जमिन नापी कार्यालयबाट व्यक्तिको नाममा कित्ताकाटसमेत भएकाले नापी कार्यालय तथा मालपोत कार्यालय हेटौँडालाई पुनः नापीका लागिसमेत लिखित जानकारी गराएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा अतिक्रमण भएको जमिनको पेस गरिएको विवरणअनुसार कित्ता नं ९६ को आठ बिघा १४ कट्ठा जमिनमा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, हेल्थ पोष्ट निर्माण तथा कार्यालय भवन अतिक्रमण गरी रेस्टुरेन्टसमेत सञ्चालन गरेको उल्लेख गरिएको छ । त्यस्तै कित्ता नं ९६ को दुई कट्ठा, एक दशमलव पाँच धुर जमिन अतिक्रमण गरी उद्धव चौलागाईँले जस्ताको टहरा बनाई पसल सञ्चालन गरेको र सनम श्रेष्ठले एक कट्ठा एक दशमलव पाँच धुर जमिनमा जस्ताको टहरा बनाई रेस्टुरेन्ट सञ्चालन गरेको बताइएको छ ।

त्यसैगरी कृष्णप्रसाद पुरी, रामकृष्ण कुँवर, विष्णु दङ्गालले क्रमशः १२ धुर, एक कट्ठा, तीन धुर र दुई कट्ठा, पाँच धुर सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरी रेस्टुरेन्ट र पसल सञ्चालन गर्न भाडामा लगाएको पेस गरिएको विवरण उल्लेख गरिएको छ ।

जितलाल महर्जनले एक कट्ठा तीन धुर जग्गा अतिक्रमण गरी जस्ताका टहरा बनाई रेस्टुरेन्ट सञ्चालन गरेको तथा प्रेमबहादुर परियारले एक कट्ठा क्षेत्रफलमा रहेको कार्यालय भवन नै अतिक्रमण गरी कुखुरापालन गरेको, कालु स्याङ्तानले एक कट्ठा पाँच धुर तथा पदमबहादुर खड्काले दुई कट्ठा चार धुर जमिन अतिक्रमण गरी रेस्टुरेन्ट सञ्चालन गरेकाले ती संरचना हटाउन कार्यालयले माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयहरूको जग्गा अतिक्रमण सम्बन्धमा विवरण पेस गर्न निर्देशन जारी गरेपछि सो मत्स्य केन्द्रको कार्यालयले आप्mनो अतिक्रमित १३ बिघा, १३ कट्ठा, १० धुर जमिन तथा भवन अतिक्रमण भएको र खाली गराउन मागसहित प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेस गरेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

सो कार्यालयले स्थापना भएको विसं २०२४ देखि आफ्नो पोखरीमा विभिन्न प्रजातिका माछाको भुरा उत्पादन, विकास, संरक्षण तथा माछाको बिक्री वितरण, सचेतना कार्यक्रम गर्दै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button