राष्ट्रिय गानले आत्मसम्मान र गौरव बढाउँछ : परराष्ट्रमन्त्री साउद
ललितपुर । परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताउनुभएको छ ।

नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा आज विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको विम्बलाई प्रतिनिधि गर्ने भएकाले हरेकलाई आत्मसम्मान र गौरव महसुस गर्ने बताउनुभएको हो ।
मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न संयुक्त राष्ट्रसङ्घले काम गर्नुपर्छ भन्ने अवस्था सृजना गर्न खोजेको बताउनुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वैरागी काइलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउनुहुँदै विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पुर्याएको धारणा राख्नुभयो । उहाँले नेपालको राष्ट्रिय गानले शान्तितर्फ प्रेरित गरेको उल्लेख गर्नुभयो ।
पुस्तकमाथि टिप्पणी गर्नुहुँदै पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रको पहिचानलाई वैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताउनुभयो ।
गीतकार तथा पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विश्वका राष्ट्रिय गान पुस्तक सुन्दर संग्रहणीय र अद्वितीय उपहारका साथै सिङ्गै संसार चिहाउने एउटा आँखीझ्याल हुने बताउनुभयो ।
पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले विश्वका राष्ट्रिय गान पुस्तकलाई सर्वसुलभ बनाएर प्रत्येक नेपालीको हातमा पुर्याउनुपर्ने बताउनुभयो ।
नेपाल वाङ्मय फाउन्डेसनका अध्यक्ष विप्लव ढकालले प्राज्ञिक क्षेत्रमा रचनात्मक काम गर्ने उद्देश्यले स्थापित संस्थाले पुस्तक प्रकाशन गरेर मौलिक अस्तित्वको आधार निर्माण गर्न खोजेको बताउनुभयो । उहाँले सबैसँग सद्भाव र समन्वय कायम गर्दै संस्थालाई अगाडि बढाइने धारणा राख्नुभयो । काव्यिक र साहित्यिक शब्दहरूको संयोजन गर्दै नेपाली वर्णानुक्रमअनुसार पुस्तक तयार पारिएको उहाँको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९५ देशका राष्ट्रिय गानको नेपाली अनुवादमा आधारित विश्वका राष्ट्रिय गान पुस्तकको अनुवाद प्रदीप निरौलाले तयार गर्नुभएको हो ।






प्रतिक्रिया राख्नुहोस्