तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा विनियोजन विधेयक माथिको छलफल जारी

काठमाडौं  । राष्ट्रिय सभामा विनियोजन विधेयक माथिको छलफल जारी रहेको छ । 

छलफलमा भाग लिँदै सांसदहरुले स्वास्थ्य क्षेत्रमा सरकारको लगानी अत्यन्त कम भएका कारण समस्या उत्पन्न भइरहेको भन्दै यस तर्फ समयमा नै ध्यान दिनु पर्ने बताउनु भयो ।

सांसदहरुले विनियोजन विधेयक थपघट गर्न मिल्ने, आवश्यकता र मागमा आधारमा परिमार्जन हुने गरी ल्याउनु पर्नेमा जोड समेत दिनुभयो ।

यस्तै सरकारी पत्रिका नागरिकको हातहातमा सहज रूपमा पु¥याउनु पर्ने, सरकारी सञ्चारमाध्यम र नेपाल टेलिभिजनलाई  निजीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्नेमा समेत सांसदहरूले जोड दिनुभयो ।  

बजेट समन्यायिक र सन्तुलित बन्न नसकेको, सङ्घीयता भनिए पनि हिजो कै एकात्मक शैलीको बजेट आएको भन्दै सांसदहरुले बजेट सङ्घीयताको मर्म अनुरुप बनाउनु पर्ने बताउनु भयो ।

सांसदहरुले सबै नागरिकमा खानेपानीको पहुँच पु¥याउने, जलस्रोतको संरक्षण गर्ने, सिँचाइको विकास गर्ने, कृषिको विकास गर्ने र उत्पादन बढाउने, हाइड्रो पावर र विद्युत् उत्पादन बढाउने र विद्युत् खपत गर्ने तर्फ बजेटले ध्यान दिन नसकेको आरोप लगाउनु भयो ।

बजेट जनभावना, नीति तथा कार्यक्रम अनुकूल हुनु पर्ने, कार्यान्वयन मुखी बजेट बनाइनु पर्ने, जनता र आवश्यकतासँग जोड्ने खालको बजेट आउनु पर्ने र बजेट कार्यान्वयनमुखी हुनु पर्नेमासमेत सांसदहरुले जोड दिनुभयो । 

यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा विद्युतीय व्यापार विधेयक २०८० पेश भएको छ । 

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० पेश गर्नु भएको हो । 

उक्त विधेयक पेश गर्ने प्रस्तावमा कुनै पनि विरोधको सूचना नपरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा जानकारी गराउनु भयो ।

यसैगरी, राष्ट्रिय सभाको शुन्य समय सांसदहरुले पहिरोका कारण बर्सेनि मुग्लिन सडक खण्ड अवरुद्ध भएर यात्रुले खेप्नु परिरहेको सास्तीका विषमा सरकारको ध्यानाकर्षण गराउनु भयो । 

सांसदहरुले जातीय छुवाछुतका कारण अहिले पनि दलितहरूले अपमानित हुनु परिरहेको, कर्णाली प्रदेशको राजधानीको सुर्खेतमा खाने पानी नहुँदा जनता मारमा परिरहेको, किसानको धान रोप्ने समयमा विभिन्न सिँचाइ योजना सञ्चालन नहुँदा किसान मारमा परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button