सरकार ढल्ने कुनै सम्भावना छैन : मन्त्री शर्मा
सरकारको काम देखेर टाउको दुखेको मन्त्री शर्माको भनाई

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भन्नुभयो “गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजीनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ ।”
संसद् बाहिर कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध गरिनु दुःखद् भएको बताउँदै मन्त्री शर्माले मिटरव्याज पीडितलाई न्याय दिने कुरामा प्रतिपक्षलाई जिम्मेवार बन्न समेत आग्रह गर्नुभयो । उहाँले जसरी पनि मिटर ब्याज पीडितलाई न्याय दिएरै छोड्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो ।
“प्रतिपक्षीले संसद् अवरोध गरेर अध्यादेश निष्क्रिय पारेपनि मिटर व्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छ । विगतका नजिर र अभ्यासका आधारमा प्रतिस्थापन विधेयकमार्फत पीडितलाई न्याय दिन्छौँ” मन्त्री शर्माले भन्नुभयो । उहाँले सरकार आफ्ना काममा अगाडि बढ्ने बताउनुभयो ।
सरकारले सुरुदेखि नै जनताको सुशासन, भ्रष्टाचारविरुद्ध सरकार कठाईका साथ प्रस्तुत भएको मन्त्री शर्माले बताउनुभयो । उहाँले सरकारका कदमबाट कसैको टाउको दुखेको समेत बताउनुभयो । “सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाईका साथ प्रस्तुत भएको छ । नागरिकता विहीनहरूले नागरिकता पाइरहेका छन् । निजामती सेवा ऐन पनि अगाडि बढ्दैछ । सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताको साथ लागेको छ । यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा देखिन थालेको छ” मन्त्री शर्माले भन्नुभयो ।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सक्कली नेपाललाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहीँ कतै त्यसको दुरुपयोग भए कानुनको दायरामा ल्याइने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्