तपाईँ सुन्दै हुनुहुन्छः

बाँके र बर्दियाका नेपाली सेनालाई सर्पदंश सम्बन्धि प्रशिक्षण

नेपालगन्ज । बाँके र बर्दियाका विभिन्न युनिटमा आबद्ध नेपाली सेनालाई सर्पदंश सम्बन्धि प्रशिक्षण दिइएको छ । श्री अर्जुनबाण गण ओभरी ब्यारेकमा आज सर्पदंश सम्बन्धि सचेतनामूलक प्रशिक्षण दिइएको हो ।

बाँके र बर्दियाका विभिन्न युनिटमा आबद्ध नेपाली सेना, सर्पदंश उपचार केन्द्र शम्शेरगन्जका स्वास्थ्यकर्मीलाई ओभरी ब्यारेकमा बोलाएर प्रशिक्षण दिइएको गणका गणपति एवम् प्रमुख सेनानी अशोक खड्काले जानकारी दिनुभयो । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट एवम् सर्पदंश विशेषज्ञ डा. कृष्णप्रसाद आचार्यले सर्पदंशको जोखिम र उपचारका सवालमा जानकारी गराउनुभएको थियो ।

बर्खायाम सुरु भएसँगै सर्पदंशको जोखिम बढी हुने गर्छ । वैशाख महिनादेखि असोज महिनासम्म सर्पको जोखिम बढी हुने गर्छ । त्यसमा पनि साउन महिनामा सर्प बढी चलायमान हुने भएकाले सर्पले टोक्ने जोखिम बढी हुने विज्ञहरू बताउँछन् ।

बाँकेसहित तराई मधेसका जिल्लामा सर्पदंशका कारण थुप्रै मानिसहरू पीडित हुने गरेका छन् । नेपालमा करिब ९० प्रजातीका सर्प रहेका छन् । ती मध्ये २० प्रतिशत मात्रै बिषालु हुने गरेको डा. आचार्यले बताउनुभयो । खासगरी यो क्षेत्रमा गोमन र करेत प्रजातीका बिषालु सर्पको जोखिम छ ।

ती सर्पले टोके पनि समयमै उपचार पाए बिरामीको ज्यान जोगिने डा. आचार्य बताउनुहुन्छ ।  घर वरपरको वातावरण सफा राख्ने, झाडी भए हटाउने, घर वरपर दुलो (प्वाल) देखिए पुर्ने, सकेसम्म भुईँमा नसुत्ने, सुते पनि झुल लगाएर मात्रै सुत्ने गर्‍यो भने सर्पदंशको जोखिम कम गर्न सकिने डा. आचार्यलेले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा थारु, राप्तीसोनारी-८ का अध्यक्ष शालिकराम डाँगी, रेडक्रसका ओभरी शाखा सभापति अम्मर खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button