तपाईँ सुन्दै हुनुहुन्छः

झापामा हात्तीको आक्रमणबाट मृत्यु भएका कर्मकारको परिवारलाई ५० हजार क्रिया खर्च

भद्रपुर, झापा । जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका झापा भद्रपुर–७ का गिरेन कर्मकारको परिवारलाई डिभिजन वन कार्यालय झापाले काजक्रिया खर्च उपलब्ध गराएको छ ।

आज पीडित परिवारको घरमै पुगेर वन कार्यालयको टोलीले राहतस्वरुप काजक्रिया खर्च दिएको हो । डिभिजन वन कार्यालयकी अधिकृत अञ्जना पुरीले कर्मकारको परिवारलाई काजक्रिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराइएको जानकारी दिनु भयो । कार्यालयका प्रमुख मेघराज राईले मृतक कर्मकारका कान्छा छोरा सुरेन्द्रलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

गत साता देउनिया खोलाउत्तर चिया बगाननजिकै हात्तीको आक्रमणबाट कर्मकारको मृत्यु भएको थियो । हात्तीको आक्रमणबाट मृत्यु भए सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउँदै आएको छ ।

काजक्रिया खर्चबाहेक पीडित परिवारले अब नौ लाख ५० हजार रुपैयाँ राहत रकम पाउने वन अधिकृत पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button