तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनको बैठक : कोशी प्रदेशमा थापालाई मुख्यमन्त्री उम्मेदवार बनाइने

काठमाडौँ । सत्ता गठबन्धन बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने प्रस्ताव लैजाने सहमति गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले कोशी प्रदेश सभा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने सहमति गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको र छलफलपछि कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउने प्रस्तावमा सहमति भएको बैठकपछि उहाँले जानकारी दिनुभयो ।

बैठकपछि नेता पाण्डेले सत्ता गठबन्धनभित्र कोशीमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई मुख्यमन्त्री दिएपछि बाँकी मन्त्रालय कसलाई दिने भन्ने विषय क्रमशः छलफल गरिने बताउनुभयो ।

बैठकमा कोशी प्रदेश सरकारमा राप्रपालाई सँगै लिएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको जानकारी पाण्डेले दिनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि केन्द्रकै गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउने प्रयास गरिरहेको छ ।

हिजो साँझ कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते साँझ ५ बजेसम्म सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button