तपाईँ सुन्दै हुनुहुन्छः

बिजुलीको आन्तरिक खपत वृद्धि गर्ने योजना छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बिजुलीको आन्तरिक खपत वृद्धि गर्ने योजनाका साथ सरकार लागिपरेको बताउनुभएको छ । उहाँले उत्पादन वृद्धि, वितरण प्रणालीको सुधार तथा आन्तरिक खपत बढाएर बाँकी रहेको बिजुली मात्रै भारत निर्यात गर्ने सोचका साथ मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नका जवाफमा मन्त्री बस्नेतले पाँच वटा प्रदेशमा निकट भविष्यमा नै पूर्ण विद्युतीकरण हुने जानकारी दिनुभयो । हालसम्म कूल ९६ प्रतिशत घरधुरीमा बिजुलीको सेवा पुगेको जानकारी दिँदै ऊर्जा मन्त्री बस्नेतले हाल कूल जडित क्षमता दुई हजार सात सय ३२ मेगावाट पुगेको बताउनुभयो ।

बिजुलीको मागमा घटबढ हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न फरक फरक योजनाका साथ लाग्नुपर्ने र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको उहाँको भनाइ छ । आगामी आवमा प्रणालीमा कूल नौ सय मेगावाट बराबरको बिजुली थप हुने जानकारी दिँदै उहाँले आगामी दुई वर्षभित्र सुक्खायाममा समेत आन्तरिक रुपमा बिजुलीमा आत्मनिर्भर हुने बताउनुभयो ।

बढी भएको बिजुली बिक्री गर्नुभन्दा अर्को विकल्प नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “खपत बढाउनका लागि आवश्यक योजनाका साथ काम भइरहेको छ । तर, बर्खायाममा बिजुली बिक्री गर्नैपर्ने बाध्यता छ । तर, सुक्खायाममा बिजुली आयात गर्नैपर्ने आवश्यकता छ ।”
मन्त्री बस्नेतले निजी क्षेत्रलाई पनि छिट्टै बिजुली बिक्रीका लागि अनुमति दिइने दोहोर्‍याउनुभयो । नदी प्रवाही आयोजना बढी भएकाले बर्खाको समयमा बढी बिजुली उत्पादन हुने र सुक्खायाममा भने कूल जडित क्षमताको एक तिहाइ मात्रै उत्पादन हुने भएकाले व्यवस्थापनका लागि नयाँ सोच जरुरी रहेको मन्त्री बस्नेतले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्रीका सम्बन्धमा दुई देशका ऊर्जा सचिवबिच सहमतिपत्रमा हस्ताक्षर भएको र छिट्टै त्यसले मूर्तता पाउने ऊर्जा मन्त्री बस्नेतले जानकारी दिनुभयो । उहाँले यो विषय बिजुली बिक्रीको विषय मात्रै नभई उत्पादनको समेत विषय भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button