तपाईँ सुन्दै हुनुहुन्छः

न्याय मर्न दिनुहुँदैन : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरूले न्याय सम्पादन निष्पक्ष गरिदिएमा न्याय मर्न नपाउने बताउनुभएको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेश स्थापनाको पाँच वर्ष पुगेको अवसरमा आज आयोजित ‘कार्यालयबाट भएका उपलब्धि, चुनौती, अवसर र भविष्य’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो, “न्याय सम्पादन गर्दा दबाबमा भन्दा पनि न्याय मर्न नदिने किसिमबाट न्यायाधीशहरूले न्याय सम्पादन गर्नुपर्छ ।”

file photo

न्यायालयबाट हुने निर्णय विवादास्पद हुन नहुने बताउँदै उहाँले भीडको अवस्थालाई हेरेर निर्णय गर्न नहुने भनाइ राख्नुभयो ।

सञ्चार विधेयक पनि बनाएर सञ्चार क्षेत्रलाई मर्यादित बनाउने पक्षमा आफू रहेको उहाँको भनाइ थियो । पछिल्लो समय सामाजिक सञ्जाल र विद्युतीय सञ्चार माध्यममा आउने समाचार भ्रमपूर्ण भएकाले ती सञ्चारमाध्यमलाई नियमन गर्न प्रेस काउन्सिल जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँको जोड थियो ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले न्यायको पहुँच दूरदराजको व्यक्तिमा समेत पुग्ने गरी हामीले काम गर्नुपर्नेमा जोड दिनुभयो । छिटो–छरितो न्याय सम्पादन गर्‍यौँ भने न्यायालयप्रतिको विश्वास आम नागरिकले महसुस गर्न सक्ने भनाइ उहाँको थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बाँस्तोलाले मुख्य महान्यायाधिवक्ताको कार्यालय गण्डकीले यस क्षेत्रका न्यायालयसँग समन्वय गरी आम नागरिकलाई न्यायप्रतिको सचेतना फैलाउन आवश्यक भएको बताउनुभयो ।

मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीका महान्यायाधिवक्ता चिरञ्जीवी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहन्यायाधिवक्ता नारायणबहादुर थापा, कानुन व्यवसायीका विभिन्न संस्थाका प्रतिनिधिले भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button