तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखसँग उत्तर कोरियाली राजदूतको भेटवार्ता

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरूको स्मरण गर्दै निकट दिनहरूमा नै नेपालले नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिनुभयो ।

सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो । 

उहाँले सांसदहरूमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद्)ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुनहरू निर्माण गर्दै गएको जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button