सर्लाहीमा मिटरब्याज पीडितका १ हजार ८९८ निवेदन दर्ता
सर्लाही । सर्लाहीमा अनुचित लेनदेन (मिटरब्याज) पीडितहरूको तर्फबाट १ हजार ८९८ वटा निवेदन दर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभरिबाट दर्ता भएको मिटरब्याजी पीडितहरूको निवेदन सङ्ख्या सार्वजनिक गरेको हो ।
जिल्लाका २० वटा पालिका र जिल्ला बाहिरबाट समेत गरी जेठ १४ गतेसम्म १८ सय ९८ वटा मिटरब्याज पीडित विरुद्ध निवेदन दर्ता भएको प्रशासन कार्यालयले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय अनुसार सर्लाहीमा सबैभन्दा धेरै मलंगवा नगरपालिकाबाट ४ सय ५८ र सबै भन्दा कम बागमती नगरपालिकाबाट ५ वटा निवेदन सङ्कलन भएको उल्लेख गरेको छ ।
यस्तै जिल्लाको कविलासी नगरपालिकाबाट १ सय ६० वटा, हरिपुर नगरपालिकाबाट १ सय ५१ वटा निवेदन दर्ता हुन आएको छ ।
यस्तै बरहथवा नगरपालिकाबाट १ सय २८ वटा, हरिपुरर्वा नगरपालिकाबाट ९० वटा, हरिवन नगरपालिकाबाट २३ वटा, बिष्णु गाउँपालिकाबाट २३ वटा, लालबन्दी नगरपालिकाबाट ६७ वटा, रामनगर गाउँपालिकाबाट २३ वटा, ब्रह्मपुरी गाउँपालिकाबाट १ सय ४८ वटा, बसबरिया गाउँपालिकाबाट ३३ वटा निवेदन सङ्कलन भएको छ ।
बलरा नगरपालिकाबाट ८४ वटा, धन्कौल गाउँपालिकाबाट ३६ वटा, पर्सा गाउँपालिकाबाट ३२ वटा, चन्द्रनगर गाउँपालिकाबाट ६८ वटा, चक्रघट्ट गाउँपालिकाबाट ३७ वटा, गोडैता नगरपालिकाबाट ४९ वटा, कौडेना गाउँपालिका ४७, ईश्वरपुर नगरपालिकाबाट १ सय ३१ वटा र अन्यमा १ सय ४ वटा निवेदन दर्ता भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुभयो ।
सङ्कलित निवेदनमाथि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा रहेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले अनुसन्धान थाल्ने उहाँले बताउनुभयो ।
सरकारले केही समय पहिला ऐन नै बनाएर अनुचित लेनदेन घटनाको छानबिनको लागि देशै भरिका जिल्ला प्रशासन कार्यालयबाट निवेदन सङ्कलन सुरु गरेको हो ।
सर्लाहीमा पनि पहिलो पटक २०८० वैशाख १७ गतेदेखि ३१ गतेसम्म १५ दिने सूचना नै जारी गरी निवेदन सङ्कलन गरेको थियो ।
समय नपुगेको भन्दै केन्द्रिय परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले दोस्रो पटक २०८० जेठ ८ गतेदेखि जेठ १४ गतेसम्म ७ दिनको समय थप गरेर निवेदन सङ्कलन गरेको हो ।
अनुचित लेनदेन (मिटरब्याज) तथा सुदखोरबाट जिल्लामा सयौँ विपन्न नागरिक घरबार विहीन बनेका छन् । भने, धेरैले एक पटक लिएको ऋणको जीवन भरी सावाँ ब्याज तिरिरहनु परेको गुनासो गरेका छन् ।
केही पीडितहरूले आफूहरू माथि दुर्व्यवहार हुने गरेको समेत आरोप लगाएका छन् । निकै समयदेखि न्यायको लागि सङ्घर्षरत मिटरब्याज पीडितहरूले अब न्याय पाउने आश पलाएको प्रतिक्रिया दिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्