महानगरपालिका प्रमुख कोइरालाद्वारा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको निरीक्षण एवं अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज विराटनगर–४ स्थित खार्जिमा रहेको तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम रेडियो नेपालको निरीक्षण एवं अनुगमन गर्नुभयो ।
अनुगमनको क्रममा उहाँले सञ्चारग्रामका सम्पन्न हुन बाँकी रहेका सम्पुर्ण काम यथाशीघ्र सम्पन्न गरि सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । उहाँले सञ्चारग्राममा बाँकी रहेको लिफ्ट तथा एसी जडानको कार्य चाडै सम्पन्न गरि महानगर एफएम सञ्चालन गर्न उहाँले आवश्यक निर्देशन दिनुभयो ।
महानगरपालिका प्रमुख कोइरालाले यसै हप्ताभित्र सञ्चारग्रामका बाँकी रहेका सबै काम सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सञ्चारग्राम सञ्चालनका लागि रेडियो नेपालले गर्नुपर्ने प्राय सबै काम सम्पन्न भइसकेको बताउनुभयो ।
सञ्चारग्राममा स्टुडियो निमार्ण गरेर रेकर्डिङको व्यवस्था समेत शुरु भइसकेकाले आगामी साउनदेखि सञ्चारग्राम पूर्ण रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । उहाँले कोशी प्रदेशको धरोहरको रुपमा रहेको सञ्चारग्राममा इ–लाइब्रेरी, रेडियो म्युजियम, गीत सङ्गीत रेकर्डिङ तथा कन्फ्रेन्सहल केही दिनमै सञ्चालनमा ल्याउने गरि तयारी भइरहेको बताउनुभयो ।
महानगर एफएम सञ्चालन गर्न उपकरण सहित आवश्यक पूर्वाधार रेडियो नेपालले तयारी पारिसकेको बताउँदै निर्देशक केसीले एसी तथा लिफ्ट जडान गर्ने जिम्मा महानगरपालिकाको भएकाले त्यो काम चाडै सम्पन्न गर्न महानगरपालिकालाई आग्रह गर्नुभयो ।

सो अवसरमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामका निर्देशक पुष्करराज गौतमले सञ्चारग्रामको आवश्यकता र महत्त्वबारे जानकारी गराउनु भएको थियो । महानगरपालिकाले तत्काल एसी जडान गर्न सके पूर्ण रुपमा सञ्चारग्राम सञ्चालनमा आउने उहाँको भनाई थियो ।
यसैगरि सञ्चारग्रामको निर्देशिका अनुसार सञ्चालन गर्ने विषयमा सञ्चालक समितिको बैठक समेत सम्पन्न भएको छ । सञ्चारग्राममा बसेको सो बैठकले सञ्चारग्राम पूर्ण रुपमा सञ्चालन गर्ने तथा जग्गा हस्तान्तरणको विषयमा छलफल गरेको थियो । छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक केसी जग्गा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया शुरु भएको जानकारी गराउनुभयो ।
महानगरपालिको जग्गा सञ्चारग्रामको नाममा ल्याउन रेडियो नेपालले आवश्यक कार्य गरिरहेको उहाँको भनाई थियो । उहाँले सञ्चारग्रामले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्न प्रदेशस्तरीय तालिमको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जग्गा हस्तान्तरण तथा सञ्चारग्राम पूर्ण रूपले सञ्चालन गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । सञ्चारग्रामबाट महानगर एफएम सञ्चालन हुनु खुसीको कुरा भएको भन्नुहुँदै सञ्चारग्रामको स्थापनाले सञ्चार क्षेत्रको विकासमा थप मद्दत पुगेको बताउनुभयो ।

सो अवसरमा सञ्चारग्रामका निर्देशक पुष्करराज गौतम मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल तथा नेपाल पत्रकार महासङ्घ मोरङ सभापति सञ्जीव खनालले सञ्चारग्रामको उद्देश्य अनुसार काम गर्न सबैको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि आजै सञ्चारग्राम तथा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका कर्मचारी सँग कार्यकारी निर्देशक केसीले प्रसारण सेवाका विषयमा छलफल समेत गर्नुभयो । उहाँले सञ्चारग्रामलाई दिगो रुपमा स्थापित गर्न तथा रेडियो नेपाललाई आर्थिक रुपमा सबल बनाउन कर्मचारीले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । रेडियो नेपाल मेरो हो भन्ने भावनाका साथ सबै मिलेर काम गर्नुपर्ने उहाँको भनाई थियो । सो अवसरमा धनकुटा प्रसारण केन्द्रका प्रमुख उद्धवसिंह ढाटक्षेत्रीले आफ्नो कार्यालयले गर्दै आएको प्रसारण सेवाको बारेमा जानकारी गराउनुभयो ।
सो अवसरमा रेडियो नेपाल धरानका प्रमुख वौएलाल चौधरी तथा सञ्चारग्राम विराटनगरका प्रमुख बलराम चौधरीले सञ्चारग्रामको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्