तपाईँ सुन्दै हुनुहुन्छः

छ महिनासम्म सुत्ने फे

दोलखा । चीनसँगको सीमा नाका दोलखाको उत्तरी लप्ची क्षेत्रको माथिल्लो भागमा एउटा अनौठो जनावर पाइन्छ । स्थानीयले फे भनेर चिन्ने हिमाली मारमोटको विशेषता भनेको झण्डै छ महिना सुत्नु हो । यसलाई स्थानीय भाषामा फ्याउ मुसा समेत भनिने गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख डा. मधु क्षेत्रीले बताउनुभयो ।

अत्यन्त लजालु स्वभावको फे कार्तिक महिनादेखि वैशाख महिनासम्म ओढारमा प्वाल (सुरुङ) बनाएर जमिन भित्र सुतेर बस्ने र वर्षा सुरु हुन लागेपछि जमिन बाहिर निस्कने लप्चीका स्थानीय कर्मा शेर्पाले बताउनुभयो । घाँस खान रुचाउने फेले कार्तिक लागेपछि जमिनभित्र पस्नु अघि बाहिरबाट घाँस ओसारेर थुपार्ने र सात महिनासम्म त्यही घाँस खाएर भित्रै बस्ने स्थानीय बताउँछन् ।

नेपाल, चिन र भुटानको तीन हजार देखि पाँच हजार पाँच सय मिटरसम्म को उँचाइमा फे (हिमाली मारमोट) पाईने विज्ञहरुको भनाई छ । यो जनावर वैशाख लागेपछि तीन हजार आठ सय मिटर उँचाइको लप्ची तथा चीनको तिब्बत पट्टीको झण्डै तीन हजार पाँच सय मिटरको टाँसिडाङ क्षेत्रतिर पाईने कर्मा शेर्पाले बताउनुभयो ।

लप्ची भन्दा तल दुई हजार पाँच सय मिटर उँचाइमा रहेको लुम्नाङ क्षेत्रमा भने यो जनावर नभेटिएको कर्माले बताउनुभयो । खरायो भन्दा केही ठूलो आकारको पहेँलो रङ्गको फे चारदेखि आठ केजीसम्मको हुने गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख डा. क्षेत्रीले बताउनुभयो ।

कुकुरले जस्तै धेरै बच्चा जन्माउने फेले दुई वर्षको उमेर देखि एक पटकमा दुई देखि ११ वटासम्म बच्चा जन्माउने स्थानीयको भनाई छ । बोसोले मात्र बनेको फेलाई तिब्बततिर याव जातिको मानिसले खाने गरेको स्थानीय बताउँछन् । यो जनावरलाई हिम चितुवाको राम्रो आहाराको रुपमा समेत लिने गरिएको छ । नरम हुने भएकोले यसलाई हिम चितुवाले रुचाउने डा. क्षेत्रीको भनाई छ ।

स्थानीय ज्येष्ठ नागरिकका अनुसार पुरुषको कम्मर दुख्ने समस्या भयो भने पोथी फे र महिलाको कम्मर दुख्ने समस्या भए भाले फेले सेकाउने प्रचलन रहँदै आएको छ । यसो गर्दा कम्मर दुख्ने समस्या हराउने स्थानीयको विश्वास रहेको ज्येष्ठ सदस्यहरु बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button