सुरुङमार्ग निर्माण थाल्न सबैको पहल जरुरी : सभामुख घिमिरे
विदुर । सभामुख देवराज घिमिरेले नुवाकोटलाई राजधानीसँग सहज रूपमा जोड्नका लागि सुरुङमार्गले पूर्णता पाउनुपर्ने बताउनुभएको छ ।

आज दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित दुप्चेश्वर माध्यमिक विद्यालय परिसरमा वामपन्थी नेता गणेश पण्डितको अर्धकदको सालिक अनावरण गर्नुहुँदै जिल्लाको विकासप्रति सबै दलले चासो दिनुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले इलामका किसानको जीवनस्तर उकास्न अलैँची, अदुवा खेतीको भूमिका भएको जस्तै नुवाकोटका किसानको जीवनस्तर उकास्न पनि सुरुङ मार्गको भूमिका हुने बताउनुभयो । उहाँले सुरुङमार्ग सुरुमा धेरै खर्च लाग्ने भए पनि यसले दीर्घकालीन फाइदा दिने भएकाले निर्माण आरम्भ गर्नका लागि सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
उहाँले नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डितको योगदान उच्च रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले नुवाकोटको पूर्वी भेगको राजनीतिक जागरण र शैक्षिक जागरणमा गणेश पण्डितको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद हितबहादुर तामाङ, सांसद विमला सुवेदी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङ, एमालेका पूर्वसांसद नारायणप्रसाद खतिवडा लगायतले पण्डितले जिल्ला र राष्ट्रको विभिन्न क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
एक दशकभन्दा लामो समय जिल्लाको पूर्वी भेगका विभिन्न विद्यालयमा शिक्षक भएर काम गरेको पण्डित विसं २०४२ को बम काण्डमा पक्राउ परी १४ महिना जेल पर्नुभएको थियो ।
विसं २०४८ को निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका वामपन्थी नेता पण्डितको २०७६ सालमा ७३ वर्षको उमेरमा निधन भएको थियो । पण्डित २००३ सालमा शिखर बेँसीमा जन्मिनुभएको थियो । गणेश पण्डित स्मृति केन्द्रको अगुवाइमा उहाँको सालिक निर्माण गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्