तपाईँ सुन्दै हुनुहुन्छः

५६ लाखको जग्गा क्याम्पसको नाममा रजिष्ट्रेसन

बारा । श्री बहुमुखी क्याम्पसलाई विभिन्न दाताले १४ कठ्ठा जग्गा दान गरेर उदाहरणीय काम गर्नुभएको छ । 

केही महिना अगाडी मात्र क्याम्पको आयोजनामा श्रीमद भागवत तथा गढीमाई महोत्सवमा क्याम्पस निर्माण गर्नका लागि जग्गा दान गर्ने भनेर प्रतिबद्धता जाहेर गरे बमोजिम बुधवार मालपोत कार्यालयमा आई महागढीमाई नगरपालिका वडा नम्बर १ निवासी नागेन्द्र प्रसाद चौधरीले कित्ता नम्बर ५ सय ३७ को १० कठ्ठा जग्गा गढीमाई बहुमुखी क्याम्पसको नाममा रजिष्ट्रेसन पास गरी त्यसको लालपुर्जा क्याम्पसका अध्यक्ष विजय कुमार स्वर्णकार र क्याम्पस प्रमुख धर्मेन्द्र प्रसाद यादवलाई संयुक्त रुपमा प्रदान गर्नुभएको छ । 

त्यसैगरि महागढीमाई नगरपालिका वडा नम्बर १ कै पन्नालाल प्रसाद, प्रेम प्रसाद, सुमित्रा देवी र नरेश प्रसाद जयसवालले १–१ कठा जग्गा क्याम्पसको नाममा दर्ता गरेको क्याम्पस सञ्चालक समितिका सदस्य अमित चौधरीले जानकारी दिनुभयो । महायज्ञबाट सङ्कलन भएको रुपैयाँबाट ४ कठ्ठा जग्गा सञ्चालक समितिले रु ४ लाख रुपैयाँको कट्ठाको दरले खरिद समेत गरेको क्याम्पसका लेखापाल जयकिशोर प्रसाद यादवले बताउनुभयो । 

क्याम्पसको जग्गा खरिद र दान स्वरूप आएको जग्गा गरि जम्मा १८ कठ्ठा जग्गा  क्याम्पसको नाममा दर्ता गराउनका लागि नियम सङ्गत लाग्ने लेखाई निःशुल्क रुपमा लेखापढी कानुन व्यवसायी ललन कुमार जयसवालले गरिदिएकोमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष स्वर्णकारले धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो ।

विधिवत् रुपमा गढीमाईको ऐतिहासिक भूमिमा क्याम्पस निर्माणको प्रक्रिया आजबाट शुरु भएको हुँदा यस पुनित कार्यका लागि  महायज्ञमा नगद रुपैयाँ वा जग्गा दान गर्नका लागि प्रतिबद्धता गर्नुभएको सबै महानुभावहरूलाई नगद वा जग्गा प्रदान गरिदिनका लागि सञ्चालक समितिका अध्यक्ष स्वर्णकारले आग्रह समेत गर्नुभएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button