पोखरामा हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला स्थगित

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला स्थगित भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अगुवाइमा भोलि बुधबार सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरू पोखरामा भेला हुने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा आएर तत्कालको लागि भेला स्थगित भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा जेठ १० गते बुधबार हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालको लागि स्थगित भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो ।
सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । प्रदेशको अधिकार, प्रदेशले गरेका काम तथा प्रदेशका अनुभव साटफेर गर्ने र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको थियो । प्रदेशले माग्नुपर्ने, पाउनुपर्ने के–के अधिकार छ, एकीकृत विकास मोडललाई कसरी अघि लैजाने ? कानुनमा देखिएको विविधता लगायतको विषयमा तथा ‘राज्य सञ्चालनका लागि एकै प्रकारको कानुन बनोस् भन्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको थियो तर अन्तिम समयमा के कारण स्थगित भयो भन्ने बारे केही जानकारी दिएको छैन ।







प्रतिक्रिया राख्नुहोस्