तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको समृद्धिका लागि उद्यमशीलता जरुरी: पूर्व मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको समृद्धिका लागि उद्यमशीलताको विकास हुनुपर्ने बताउनुभएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा भएको “एक दिवसीय उद्यमशीलता तथा नृत्य प्रतियोगिता’ को उद्घाटन गर्नुहुँदै पौडेलले दिगो आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास जरुरी रहेको बताउनुभयो ।

हेटौँडा ४ नम्बर वडा कार्यालयको आयोजना तथा टोल विकास नगर समन्वय समितिको व्यवस्थापनमा भएको कार्यक्रममा उहाँले सडक निर्माणलाई मात्रै विकास मान्ने कुरालाई छोडेर सबै क्षेत्रको विकासमा जोड दिन आग्रह गर्नुभयो ।

बागमती प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले उद्यमशीलतासँगै उद्योगी व्यवसायीहरूको प्रवर्द्धनमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले उपमहानगरपालिकाले स्थानीय उत्पादनको बिक्री र बजारीकरणका लागि आगामी बजेटमा विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।

यस्तै ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले आफ्नो वडामा विकास निर्माणका कामसँगै हरेक क्षेत्रको विकासमा जोड दिने बताउनुभयो ।

प्रदर्शनीमा हेटौँडाका १९ वटा वडाका स्थानीय उद्यमीहरूले उत्पादन गरेका नेपाली पोशाकदेखि खाना, गहना, मन्दिर, मह, घिउ, कुशन, डल लगायतका स्थानीय वस्तुहरू प्रदर्शनीका लागि राखिएको थियो । प्रदर्शनीको ३६५ टोल विकास संस्थाका प्रतिनिधि लगायत, शिक्षक, विद्यार्थी, जनप्रतिनिधिहरू लगायत करिब ४ हजार बढीले अवलोकन गरेका छन् ।

कार्यक्रममा जनगायक एवम् सङ्गीतकार आशाकाजी श्रेष्ठलाई नगद २५ हजार र सम्मान पत्रसहित सम्मानित गरिएको थियो । लोक गायक बद्री पंगेनी र नायिका तथा मोडल ऋचा थापा लगायतका कलाकारहरूको विशेष प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button