तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयता सहितको संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्छ’

काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले जनप्रतिनिधिले जारी गरेको संघीयतासहितको संविधानको प्रभावकारी र पूर्ण कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक कार्यक्रममा प्रथम राष्ट्रपति यादवले वरिष्ठ अधिवक्ता ज्ञवालीको पुस्तक देशमा कानुनको शासन कायम हुनुपर्नेमा स्पष्ट रहेको बताउनुभयो ।

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पुस्तक संविधानको अध्ययन र संविधान निमार्णका क्रममा भएको संविधानको मर्म र सङ्घीयताका लागि निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले पुस्तक पढ्ने र आफ्नो अनुभव अरूसँग साट्नका लागि पनि पुस्तक उपयोगी रहेको भन्दै न्यायाधीश, अधिवक्ता र कानुनका विद्यार्थीका उपयोगी रहेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संवैधानिक कानुन अध्ययनका लागि उपयोगी र संग्रहनीय रहेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले पुस्तक लेख्नु सामान्य कुरा नभएको भन्दै संविधानको व्याख्यासम्बन्धी पुस्तक सामान्य नरहेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको व्याख्या जटिल विषयमा भएको र गणतन्त्र, प्रजातान्त्रिक, सङ्घीयता र समावेशिताको विषयमा राम्रो व्याख्या गरिएको बताउनुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक अध्ययनका लागि धेरै उपयोगी र ऐतिहासिक दस्ताबेज भएको टिप्पणी गर्नभयो ।

अधिवक्ता ललितबहादुर बस्नेतले संविधानको व्याख्या सामान्य कुरा नभएकाले लेखकले मेहनत गरेर ऐतिहासिक दस्ताबेजका रुपमा प्रकाशनमा ल्याएको बताउनुभयो ।

पुस्तकका लेखक वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले देश, जनता र विधिको शासनप्रति आफु असाध्यै संवेदनशील भएको भन्दै पुस्तक लेख्दा आफूलाई आनन्द लाग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button