तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकार गठन भएकाे आज  एक सय दिन पूरा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको आज  एक सय दिन पूरा गरेको छ । सरकारको सय दिन पूरा भएपनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदबाट राजीनामा दिनु भएपछि नेपाली काँग्रेसका कमलबहादुर मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

नेकपा एमाले संसदीय दलका नेता रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि एक महिनामै मुख्यमन्त्रीबाट राजीनामा दिनु भएको थियो । त्यसपश्चात् प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पहिलो दल रहेको काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएकै दिनमा शाहले भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा ९काँग्रेस० र आर्थिक मामिला मन्त्रीमा नरेशकुमार शाही (नेकपा एस) लाई नियुक्त गर्नु भएको थियो । त्यस यता प्रदेश सरकार विस्तार हुन सकेको छैन । हाल बाँकी रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले सम्हालिरहनु भएको छ ।

प्रदेश सभाबाट मुख्यमन्त्री  शाहले विश्वासको मत लिनु भएपछि मन्त्रिमण्डल विस्तार हुने दलहरूको अपेक्षा थियो । त्यसदेखि सरकारलाई पूर्णता दिने विषयमा मुख्यमन्त्रीले छलफल गर्नु भएपनि सार्थक हुन सकेको छैन । मुख्यमन्त्री शाहले फागुन २१ गते प्रदेश सभामा  विश्वासको मत प्राप्त गर्नु भएको थियो ।  उहाँलाई काँग्रेस १९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति ७, नेकपा एस ४ र स्वतन्त्र १ जनाको समर्थन गर्नुभएको थियो ।

मुख्यमन्त्रीका स्वकीय सचिव रामबहादुर विष्टका अनुसार सरकारलाई पूर्णता दिनका लागि मुख्यमन्त्री शाह निकै गम्भीरता साथ सत्ता गठबन्धन दलसँग छलफलमा रहनु भएको छ । उहाँ विश्वासको मत प्राप्त गर्नु भएसँगै मन्त्रिमण्डल विस्तार गर्ने योजनामा हुनु हुन्थ्यो, त्यसका लागि दलका शीर्ष नेताहरूसँग भेटवार्ता र छलफल पनि गर्नु भयो तर अहिले सम्म सार्थकता पाएको छैन, अहिले पनि मुख्यमन्त्रीज्यू त्यसैमा केन्द्रित रहनु भएको छ, अव चाडै सरकारले पूर्णता पाउँछु उहाँले भन्नू भयो ।

मुख्यमन्त्री शाहले सार्वजनिक समारोहमा तथा भेटवार्तामा समेत सरकारले चाडै पूर्णता पाउने भन्दै आउनु भएको छ, तर अझै सरकारले पूर्णता पाएको छैन, अहिले सरकारलाई पूर्णता दिने विषयमा चर्चा परिचर्चा भइरहेको छ । तत्काल मन्त्रिपरिषद् विस्तार गरि बजेट निमार्ण तथा जनताका अपेक्षालाई सम्बोधन गरिनु पर्छ, नागरिक अगुवा हरि रेग्मीको भनाई छ ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री आलोपालो सहित मन्त्रालय भागबन्डाको प्याकेजमा सहमति खोजेपछि मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुन गएको छ । यस अघि दुई वटा मन्त्री पाउनु पर्ने अडानमा रहेको नागरिक उन्मुक्तिले सल्लाहकार रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएपछि सरकारमा जाने कि नजानेमा निर्णय लिन सकेको छैन, त्यसले मन्त्रिमण्डल विस्तार थप पेचिलो बनेको छ ।

यसैबिच सरकारले पूर्णता नपाउँदा  प्रदेश सभाका विषयगत समिति गठन, आगामी वर्षको नीति, योजना तथा कार्यक्रम एवं बजेटको तयारी कार्य प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button