आगामी बजेटमा जुम्लामा ‘एक पालिका एक कोल्डस्टोर’ को माग

जुम्ला । आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा जुम्लाका आठै पालिका कोल्ड स्टोर स्थापना हुनुपर्ने माग गरिएको छ । उचित भण्डारणको व्यवस्था नहुँदा वर्षेनी जुम्लामा लाखौँको स्याउ कुहिने र गाईबस्तुलाई दिन बाध्य भएकोले यहाँका आठै पालिकामा ‘एक पालिका एक कोल्डस्टोर’ निर्माण हुनुपर्ने माग गरिएको हो ।
जुम्लामा आयोजित आगामी वर्ष २०८०/८१ का लागि योजना तर्जुमा गोष्ठीमा सहभागी किसानले जुम्लाको आर्थिक समृद्धिको आधार नै स्याउ भएपनि उचित भण्डारण नहुँदा किसान घाटामा गएको भन्दै कोल्डस्टोर निर्माणमा प्राथमिकता दिन माग गरेका हुन् ।
जुम्लाको आर्थिक समृद्धि र विकासको मुख्य मेरुदण्ड नै स्याउ खेतीलाई मानिन्छ । जुम्लाका १६ हजार घरधुरी किसान स्याउ खेतीमै निर्भर छन् । गत वर्ष जुम्लामा अहिले सम्मकै बढी १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । भने करिब ५० करोड बढी आम्दानी हुने अनुमान गरिएपनि सो अनुसार आम्दानी हुन सकेन ।
हाल जुम्लाको ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएपनि उत्पादन ३२ सय हेक्टरमा मात्रै भइरहेको छ । उचित भण्डारणका लागि कोल्डस्टोर नहुनु, परिपक्व नहुँदै काँचो स्याउ बाहिरी जिल्लामा निर्यात गर्नु, ग्रेडिङ, लेवलिङ, प्याकेजिङ नहुनु लगायतका कारणले जुम्ली स्याउको बजारीकरणमा चुनौती छ ।
जिल्लामा व्यवस्थित कोल्डस्टोर नहुँदा वर्षेनि लाखौँको स्याउ घरमै कुहिँदै गएको छ । गत वर्ष मात्रै ५/६ लाखको स्याउ घरमै कुहियो । गाई भैँसीलाई खुवाउन बाध्य भएको किसान सर्पानन्द हमालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लामा उपयुक्त कोल्डस्टोर छैन । अधिकांश किसान परम्परागत शैलीमै जमिनमुखी भण्डारण गर्नाले स्याउ कुहिएर खेर जान्छ । जिल्लामा प्रशोधन उद्योग पनि छैन । कोल्डस्टोर नहुँदा पछि कुहिने डरले साउन भदौमा काँचो स्याउ बेच्न किसान बाध्य छन् । त्यसैले आगामी वर्षको बजेटमा एक स्थानीय तह एक कोल्डस्टोर स्थापनामा लगानी बढाउन आवश्यक छ ।”
त्यस्तै गुठिचौर गाउँपालिका ३ का व्यवसायीक स्याउ किसान टङ्क गिरीले जिल्लामा उचित प्रविधि सहितको कोल्ड स्टोर नहुँदा वर्षेनी लाखौँको स्याउ कुहिएर गाईलाई दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“स्थानीय तहको लगानी सडक विकासमा मात्रै बढी देखिन्छ । उत्पादनमूलक क्षेत्रमा तीनै तहका सरकारको लगानी न्युन छ । जुम्लाको स्याउलाई आर्थिक समृद्धिसँग जोड्न उचित भण्डार बिना सम्भव छैन । त्यसैले आगामी आवको नीतिमा जुम्लाका आठै पालिका मध्यम खालको कोल्डस्टोर स्थापनासँगै ढुवानीमा सहुलियतको नीति निर्माणमा प्राथमिकता दिनुपर्छ ।”
जुम्लाका व्यवसायी देउऋषि चौलागाईले व्यक्तिगत लगानीमा १५ लाख मेट्रिकटन क्षमताको बहुउद्देश्यीय कोल्डस्टोर निर्माण गरेपनि बत्ती अभावले सञ्चालनमा आउन सकेको छैन । त्यसलाई सञ्चालनमा ल्याउन भने पहल भइरहेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले देशमा आर्थिक संकट भइरहँदा आगामी नीति तथा कार्यक्रम र बजेट उत्पादनमुखी आउने बताउनुभयो । जुम्ली स्याउको उत्पादन वृद्धि,क्षेत्र विस्तार उत्पादित स्याउको भण्डारणका लागि कर्णाली प्रदेश सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले किसानबाट माग भई आएका कार्यक्रम र योजनालाई जस्ताको त्यस्तै पठाउने र एक पालिका एक कोल्डस्टोर निर्माणका लागि पहल गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्