तपाईँ सुन्दै हुनुहुन्छः

चौँरी पालनबाट गुजारा चलाउँदै हिमाली भेगका बासिन्दाहरू 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हिमाली भेगका स्थानीयको प्रमुख आयस्रोत चौँरी पालन हो । चौँरीको दुध र छुर्पी बेचेर नै यहाँका किसानहरूले गुजारा चलाउँदै आएका छन् ।

वर्षको नौ महिना चौँरी पालनका लागि खर्कमा नै बिताउने गरेका यहाँका किसानहरूले सरकारले चौँरी पालक किसानहरूका लागि कुनै कार्यक्रम नल्याएको बताउँछन् ।

सरकारले चौँरी पालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरू व्यावसायिक चौँरी पालन गर्न तयार रहेको जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पा बताउनुहुन्छ । अहिले त निर्वाहका लागि मात्र हामीले चौँरी पालन गरेका छौँ शेर्पाले भन्नुभयो सरकारको साथ पाउने हो भने हामी व्यावसायिक रुपमा नै चौँरी पालन गर्न तयार छौँ । शेर्पा एक्लैले मात्र ४२ वटा चौँरी पालन  गर्दै आइरहनु भएको छ ।

खासगरि जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको हिमाली भेगका किसानहरू चौँरी पालन गर्दै आइरहेका छन् । पुर्ख्यौली पेशा चौँरी पालन गर्दै आइरहेका यहाँका किसानहरूले जीविकोपार्जनका लागि अन्य स्रोत नभएपछि आम्दानी कम हुने भएता पनि चौँरी पालन गर्न बाध्य छन् । सरकारले कृषि क्षेत्रमा लगानी गरेको सुने पनि आफूहरूलाई अहिलेसम्म कुनै अनुदान नमिलेको जुगल गाउँपालिका दिपुका किसान म्ङिमालमू शेर्पा बताउनुहुन्छ ।

खर्कमै जन्मनु भएकी शेर्पा विगत ४० वर्षदेखि यही पेशामा हुनुहुन्छ । खर्कमा चौँरी चराउनु, हेरचाह गर्न, दुध र छुर्पीलाई बजार पु¥याउनु उहाँको दैनिकी नै बनेको छ । आम्दानी त यसै हो घर चलेको छ – शेर्पाले भन्नुभयो ।

समुद्री सतहबाट २ हजार पाँचसय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौँरीको लस्कर देख्न सकिन्छ । यहाँका किसानहरू त्यही निमिल्हा हुँदै दोङजाङमा, चासीखर्क, ने–पेमाछाल हुँदै समुद्री सतहबाट ३ हजार ८ सय मिटर उचाइमा अवस्थित जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म चौँरी गोठ सार्दै पुग्ने गर्छन् । कहिलेकाहीँ गोठमा चौँरी मात्र हैन मान्छे पनि बिरामी हुने गर्छ । त्यो समय यहाँ चौँरी र मान्छे दुवैको उपचार स्थानीय जडीबुटीबाट नै हुने गर्छ ।

हामीलाई दुःख छ सर किसान म्हिमालमू शेर्पा भन्नु हुन्छ खै सरकारले कृषि क्षेत्रमा काम गर्नेहरूलाई अनुदान दिन्छ रे, हामीलाई चैँ किन नदिएको होला शेर्पा प्रश्न गर्नुहुन्छ ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने आफूले चौँरी पालक किसानहरूलाई अनुदान लागि संघ र प्रदेश सरकारसँग पहल गरेको बताउनुभयो । उहाँले पालिकाबाट पनि याक खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गर्नु भएको जानकारी दिनभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button