अमेरिकामा आँधीः पाँच जनाको मृत्यु, पाँच घाइते
ग्लेन एलेन (मिसौरी)। विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ ।
आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण हाल सम्म ६३ जनाले ज्यान गुमाएका छन् । बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन्भने विद्युत् आपूर्तिमा अवरोध भएको छ ।
प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन् । राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सहयोग गर्ने बताउनुभएको छ । उहाँले राष्ट्रपति जो बाइडेनबाट सङ्घीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिनुभएको छ ।
यसअघि मिसिसिपीमा गत साता आएको आँधीमा परी २६ जनाको ज्यान गएको थियो । त्यहाँको सानो शहर रोलिङफार्क पूर्णरूपमा तहसनहस भएको थियो । करिब दुई हजार बासिन्दा रहेको उक्त स्थानको स्थलगत निरीक्षणमा पुग्नु भएका राष्ट्रपतिले आँधीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रकट गर्नुभएको थियो ।
निरपेक्ष गरिबीको रेखामुनि रहेका त्यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपतिले सङ्घीय सरकारलाई आदेश दिनुभएको थियो । अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलव्ध गराउन उहाँले आदेश दिनुभएको थियो ।एपी







प्रतिक्रिया राख्नुहोस्