तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले योजना छनौटमा पारदर्शिता ल्याउने: मुख्यमन्त्री शाह

अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारले योजना छनौटमा पारदर्शिता ल्याउने बताउनुभएको छ ।

अछामको भ्रमणमा रहनुभएका मुख्यमन्त्री शाहले आज मङ्गलसेन नगरपालिकाले गरेको स्वागत तथा बधाई कार्यक्रममा बस्ती तथा वडा स्तरबाट छनौट भएका योजनालाई मात्रै प्राथमिकता दिई छनौट गर्ने प्रतिबद्धता जनाउनुभयो । विगतमा भएका विकृतिबारे आफू जानकार रहेको भन्दै उहाँले अब प्रदेश सरकारप्रति आम नागरिकको धारणा नै परिवर्तन गरी अघि बढ्ने बताउनु भयो ।

मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बोहराले नगरका गौरवका योजनाबारे जानकारी गराउनुभएको थियो । मङ्गलसेन खेल मैदान, मङ्गलसेन-रामारोशन सडक, खानेपानी लगायतका विषयमा जानकारी गराउँदै नगर प्रमुख बोहराले स्थानीय तहसँग समन्वय गरेर मात्रै प्रभावकारी योजना छनौट गर्न आग्रह गर्नुभएको थियो ।

सो सबन्धमा मुख्यमन्त्री शाहले स्थानीय तहको समृद्धिका लागि प्रदेश सरकार सहकार्य गर्दै अघि बढ्न तयार रहेको भन्दै अब फरक तरिकाले प्रदेश सरकार अघि बढ्ने दाबी गर्नुभयो । उहाँले स्थानीय तहका कर्मचारीको व्यवस्थापन गर्न स्थानीय सेवा ऐन ल्याउने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा प्रदेशका पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह, प्रदेश सांसद झपट बहादुर साउँद, लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाह, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button