नेपालको संघीय प्रणाली एवं स्थानीय तहमा हुने न्याय निरूपण महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय राज्य प्रणालीसहितको तीन तहको शक्ति बाँडफाँड र विगतका परम्परा र अनुभवभन्दा पृथक् र विश्वका लागि समेत प्रेरणादायी भएको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले आयोजनामा सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री दाहालले राज्यको अग्रगामी पुनर्संरचनासहितको नेपालको संघीय प्रणाली एवं स्थानीय तहमा हुने न्याय निरूपण महत्वपूर्ण भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले संविधानको मर्म र भावनाअनुरूप समाजवादको आधार तयार पार्न समेत न्यायिक समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले न्यायिक समितिमार्फत हुने न्याय सम्पादनले संघीय प्रणालीप्रति जनविश्वास र अपनत्वबोध गराउनुका साथै संविधानको प्रभावकारी कार्यान्वयनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले न्यायिक समितिका पदाधिकारी र काम गर्ने कर्मचारीहरूको तालिम र क्षमता अभिवृद्धिका लागि केन्द्र सरकारले तालिमको संयन्त्र निर्माणमा भूमिका खेल्ने विश्वास दिलाउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले केन्द्र सरकार स्थिर रहन सके स्थानीय तहलाई पनि काम गर्न सहज हुने बताउनुभयो ।
उहाँले केन्द्र सरकार अस्थिर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताउँदै केन्द्रदेखि स्थानीय तहसम्म सरकार छ भन्ने आभास दिलाउन सक्नुपर्ने बताउनुभयो ।

महानगरपालिका प्रमुख शाहले उपप्रमुख पद उप भएपनि न्यायिक समिति लगायतका भूमिकाले कामका आधारमा प्रमुखको भन्दा ठूलो भूमिका रहेको समेत बताउनुभयो ।
भोलिसम्म चल्ने सम्मेलनमा देशभरका ४ सयभन्दा बढी उपप्रमुख तथा न्यायिक समितिका सदस्यहरु उपस्थित छन् ।
सम्मेलनमा न्यायिक समितिसम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुनेछन् भने सम्मेलनले काठमाडौँ घोषणापत्र समेत जारी गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया राख्नुहोस्