एमालेमा लागेको खिया मेटाउन मिसन ग्रासरुट : अध्यक्ष ओली (भिडियो)

सुङ्गा I नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा लागेको खिया मेटाउनुपर्ने बताउनुभएको छ । गुल्मीको तम्घासमा आयोजित मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो उल्लेख गर्नुभएको हो ।
खिया लागेर भुत्ते भएका फलामलाई धारिलो बनाए मात्र प्रयोगमा आउने ओलीले बताउनुभयो । “निरन्तर प्रयोग नगरेमा खुकुरीमा खिया लाग्छ, भुत्ते हुन्छ काट्दैन” उहाँले भन्नुभयो, “एमालेमा लागेको खिया मेटाउनुपर्छ, धार लगाएर जनतामाझ जानुपर्छ ।” अध्यक्ष ओलीले कार्यकर्ता हुँदै जनतामाझ जानको लागि एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
नेकपा एमालेले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ देशभर पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत तम्घासमा सोमबार बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको नेकपा एमाले गुल्मीका अध्यक्ष गणेश श्रीपालीले जानकारी दिनुभयो ।
प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा एमालेका अध्यक्ष ओलीले गैरएमाले प्रवृत्ति परास्त गर्ने अभियानको मुख्य ध्येय रहेको समेत प्रस्टाउनुभएको थियो । एमालेका सदस्यको व्यवहार र आचरण देख्दै एमाले जस्तो हुनुपर्ने उहाँको भनाइ छ ।
पञ्चायत कालमा तत्कालीन लुम्बिनी अञ्चलका छ जिल्लामा आफु कमाण्ड रहेर मोर्चा समालेको स्मरण गर्दै हाल लुम्बिनी प्रदेशका यी जिल्लामा आवासीय भ्रमण गरेको ओलीले बताउनुभयो । उहाँले नेकपा एमालेले एक्लै ५१ प्रतिशत मत ल्याउनको लागि मेहनत गरिरहेको बताउनुभयो । “देश बचाउन र बनाउन एमालेको एक्लै बहुमत चाहिन्छ” सम्बोधनमा ओलीले भन्नुभयो, “जतिसुकै गठबन्धन भएपनि एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा एमाले होइन ।” आधुनिक नेपालको निर्माणको लागि एमाले मात्र सशक्त रहेको उहाँले कार्यकर्तामाझ सुनाउनुभएको थियो ।
उहाँले एमाले अब माथिल्लो कमिटीले क्रमशः तल्लो कमिटीलाई निगरानी गरेर जनतामाझ परिचालित हुन आवश्यक रहेको उल्लेख गर्नुभएको थियो । टोलटोलमा सङ्गठन र घरघरमा सदस्य एमालेको अभियान भएको उहाँले बताउनुभयो । ओलीले फरक प्रसङ्गमा काँग्रेसको भन्दा थोरै मत एमालेलाई नसुहाउने प्रतिक्रिया दिनुभयो ।
बृहत् कार्यकर्ता प्रशिक्षणमा नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप कुमार ज्ञवाली, केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव गोकर्णराज बिष्ट लगायतका नेताले बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । रासस
भिडियो :








प्रतिक्रिया राख्नुहोस्