बाढीले भत्किएका एक सय कुला अझै बनेनन्, किसान मर्कामा
जुम्ला । गत असोजको १९ देखि २५ गतेसम्म भएको अविरल वर्षापछि आएको बाढी, पहिरोबाट भत्किएका दर्जनौँ सिँचाई कुलाको सात महिना बितिसक्दा पनि मर्मत तथा पुनर्निर्माण हुन सकेको छैन ।

जसका कारण बीउ बेर्नादेखि राख्नेदेखि जेठको रोपाई समेत प्रभावित हुने चिन्तामा जुम्ली किसान छन् । जुम्लाका अधिकांश किसान सिचाई नहुँदा बेर्ना राख्नै अलमलमा छन् ।
बाढी पहिरोबाट नराम्ररी प्रभावित भएको जुम्लाको तातोपानी, तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका झण्डै डेढ सय बढी सिँचाई कुलाहरू बाढीले भत्काएको थियो ।
चैतको १२ गते अर्थात् (बारुवा) पर्व जुम्लामा मार्सी धानको बिउ राख्ने दिन । १२ गते बिउ राख्ने, १६ गते निकाल्ने र २० गते बेर्नामा छर्ने कृषि क्यालेन्डर छ ।
कर्णाली प्रदेश सरकारले चैत १२ गते जुम्लाका लागि धान दिवसका रुपमा सार्वजनिक बिदा दिँदै आएको छ ।
सात महिनासम्म पनि क्षतविक्षत भएका सिचाई कुला तथा नहरको मर्मत गर्न बेवास्ता गरेर बिदा दिनुको कुनै औचित्य नरहेको नागरिक अगुवा राज बहादुर महत बताउनुहुन्छ ।
खानेपानी सिचाई तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले २ करोड ८० लाख लगानीमा जिल्लाभरका भत्किएका २२ वटा कुलो मर्मत गरिने बताए । “सयौँको सङ्ख्यामा भत्किएका सबै कुला मर्मत गर्न सम्भव छैन । हामीले स्थलगत अनुगमन गरेका र पालिकाबाट माग भएमध्ये अत्यावश्यक २२ वटा कुलो निर्माण गर्दै छौँ”,उहाँले भन्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्