महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा आवागमन बन्द

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीको पूर्वी भँगालोमा निर्माणाधीन चार लेनको पक्की पुलमा आवागमन बन्द गरिएको छ ।
पुलको दुवैतर्फ पर्खाल निर्माणको कार्य भइरहेकोले आवागमन बन्द गरिएको हो ।
चैत महिनाभर निर्माणको कार्य जारी रहने भएकोले पुलमा आवागमन बन्द गरिएको बताइएको छ । यस अवधिमा साना सवारीसाधन र पैदल यात्रुले झोलुङ्गे पुल भएर यात्रा गर्नुपर्ने छ भने ठूला सवारीसाधन ठप्प नै हुनेछन् ।
निर्माणाधीन पुलमा ठूलासाना सवारीसाधन र पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाइएको पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयको भनाइ छ ।

पुलको दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण भइरहेको छ । अब नयाँ वर्षमा मात्रै खोल्ने गरी धमाधम काम हुनेछ ।
पुल निर्माणको काम चलिरहेकै बेला झन्डै दुई वर्षअघि निर्माण कम्पनीले डाइभर्सन बनाएर दोधारा चाँदनीसम्म ठूला सवारीसाधन समेत आवागमन गर्न सक्ने व्यवस्था गरेको थियो ।
गत वर्ष कार्तिकमा आएको बाढीले पहुँच मार्ग भत्काएपछि केही समय अवरुद्ध भएको आवागमन सडक मर्मतपछि पुनः सञ्चालन भएको थियो । त्यसयता सजिलै आवागमन गरिरहेका नागरिकहरूलाई भने केही समयका लागि पुनः असुविधा भएको छ ।







प्रतिक्रिया राख्नुहोस्