जुम्लामा वर्ल्ड लिङ्कको फाइबर इन्टरनेट सेवा सुरु

जुम्ला । जुम्लामा उच्च गतिसहितको फाइबर इन्टरनेट सेवा विस्तार भएको छ ।
कर्णाली प्रदेश राजधानी सुर्खेत पछिको दोस्रो ठुलो शहर जुम्लामा निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कले उच्च गतिको फाइबर इन्टरनेट सेवा विस्तार गरेको हो ।
बुधबार जुम्लामा एक औपचारिक कार्यक्रम मार्फत वर्ल्ड लिङ्कले काठमाडौँ कै गुणस्तर बराबरको उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ ।
यसअघि वर्ल्ड लिङ्कको वायरलेस इन्टरनेट प्रयोग गर्दै आएका जुम्ली उपभोक्ताले अब तार सहितको फाष्ट फाइबर इन्टरनेट सेवा उपभोग गर्न पाउने भएका छन् ।
दुर्गम जुम्लालाई उच्च गतिको इन्टरनेटमा जोड्न पाउँदा हर्षित भएको वर्ल्ड लिङ्कका अध्यक्ष दिलीप अग्रवालले बताउनुभयो । वर्ल्ड लिङ्क एक गुणस्तरीय र विश्वस्तरीय कम्पनी हो । उहाँले भन्नुभयो,“हाम्रो लक्ष्य मुनाफा कमाउनु मात्र नभई नागरिकलाई अधिकतम सेवा दिनु हो । उच्च गतिको इन्टरनेट विस्तारले दुर्गम जुम्लाले सिङ्गो कर्णाली प्रदेशलाई जोड्ने छ । फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान हो ।”
जुम्लामा वायरलेस इन्टरनेट थियो । वायरलेस सेवा सुरु भएको ९ महिनापछि फाइबर नेट इन्टरनेट सेवा विस्तार गर्न सफल भएको अध्यक्ष अग्रवालको भनाई छ । कर्णालीका सबै जिल्लामा फाइबर इन्टरनेट पुराउने लक्ष्य रहेको उहाँको भनाई छ ।
जुम्लामा वायरलेस हुँदै फाइबर इन्टरनेट विस्तारका लागि झण्डै १६ करोड लगानी भएको वर्ल्ड लिङ्कका महाप्रबन्धक किरण गौतमले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्ला बाहेक ७ जिल्लामा फाइबर इन्टरनेट पुगिसकेको छ ।
जुम्लामा हाल ५ सय २५ जना ग्राहक रहेका छन् ।
नेपालभर ७ लाख ५० हजार बढी ग्राहकले वर्ल्ड लिङ्कको इन्टरनेट प्रयोग गरिरहेको महाप्रबन्धक गौतमले बताउनुभयो ।
नेपालमा वर्ल्ड लिङ्कले सेवा सुरु गरेको २७ वर्ष भइसकेको छ । महाप्रबन्धक गौतम भन्नुहुन्छ ,“जुम्लामा ८० एमबी इन्टरनेट प्रवाह छ । ग्राहकको सङ्ख्या भन्दा हामी विश्वसनीयता बढाउन चाहन्छौँ । मुनाफानाभन्दा ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर वर्ल्ड लिङ्क दुर्गम केन्द्रित बनेको छ ।”
अझ अहिलेको भन्दा उच्च गतिको फाइबर इन्टरनेट निकट भविष्यमै मुस्ताङ, डोल्पा हुँदै जुम्लामा पुराइने तयारी छ । जुम्लामा वर्ल्ड लिङ्कको फाइबर नेट विस्तारका लागि बुधबार वर्ल्ड लिङ्क कम्पन्नीका अध्यक्ष दिलीप अग्रवाल, ब्रिटिस ईन्भेष्टमेन्ट कम्पन्नीका प्रतिनिधि श्रीनि सहितको टोली विमान चार्टर गरी जुम्ला पुगेको थियो ।
स्थानीय उत्साहित
वर्ल्ड लिङ्कको फाइबर इन्टरनेट विस्तार भएपछि जुम्ली नागरिक उत्साहित भएका छन् ।
वर्ल्ड लिङ्कको फाइबर इन्टरनेट विस्तार भएपछि जुम्ला नागरिक खुसी भएका हुन् ।
वल्र्ड लिङ्कको फाइबर नेटले जुम्लाको इन्टरनेट क्षेत्रमा देखिएको समस्या अन्त्य गर्ने र नागरिकले सुबिस्ता पाउने स्थानीय पूर्ण प्रसाद चौलागाईले बताउनुभयो । चाडै घरमा वर्ल्ड लिङ्क इन्टरनेट जोड्ने उहाँको तयारी छ ।
आठ स्थानीय तह र ६० वडा वडा रहेको जुम्लामा करिब १ लाख २० हजारभन्दा बढी नागरिक छन् । अब सबै नागरिकलाई इन्टरनेटको पहुँचमा पुग्ने समेत आशा गरिएको छ ।
जुम्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालय वर्ल्ड लिङ्क कै इन्टरनेट प्रयोग गर्दै आएका छन् । सरकारी तथा गैरसरकारी कार्यालयको दैनिक कार्य सम्पादन छिटो छरितो हुने र सेवाग्राहीले समयमै सेवा पाउने छन् । इन्टरनेट ढिलासुस्तीका कारण अब सेवाग्राहीले सास्ती पाउनु नपर्ने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी बताउनुहुन्छ ।
उहाँले फाइबर इन्टरनेट विस्तारले इन्टरनेट प्रयोग गरेर दिइने सबै सेवालाई सहज बनाएको बताउनुभयो । बिग्रिदा तत्कालै मर्मत गर्ने, ग्राहकको गुनासो सुन्ने बजार केन्द्रित मात्र नभई दूर दराजमा समेत इन्टरनेट विस्तारमा जोड दिन समेत प्रजिअ केसरीले आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्