लोक कल्याणका लागि पहिलो पटक श्री विष्वक्सेन इष्टि महायज्ञ
काठमाडौँ । विश्व शान्ति, विघ्न हरण र लोक कल्याणका लागि नेपालमा पहिलोपटक श्री विष्वक्सेन इष्टि महायज्ञ चलिरहेको छ ।

जीयर शैक्षिक संस्था नेपाल, विकास तरङ्गिणी एवं श्री वेङ्कटेश मन्दिर तथा सेवा सदन निर्माण समितिले आयोजना गरेको कार्यक्रममा दैनिक हजारौँ मानिस सहभागी भइरहेका छन् । काठमाडौँ महानगरपालिका–६ श्रीनिवास नगर कुमारी गालमा भइरहेको महायज्ञमा श्री जीयर शैक्षिक ट्रस्टका संस्थापक त्रिदण्डी चिन्न श्रीमान्नारायण रामानुज जीयर स्वामी पनि नेपाल आउनुभएको छ ।
उहाँको उपस्थितिमा फागुन २५ गतेदेखि महायज्ञ सुरु भएको हो । स्वामीको नेपाल लगायत १३ देशमा आश्रम रहेको जनाइएको छ । संस्कृत एवं आगम शास्त्रको रक्षाका लागि काम गर्दै आउनुभएका स्वामीले विभिन्न स्थानमा गुरुकुल एवं शैक्षिक संस्था सञ्चालन गर्नुभएको छ । नेपालमा पनि पञ्च दिवसीय कार्यक्रमबाट जम्मा भएको स्रोतले श्री वेङ्कटेश मन्दिरसहित गुरुकुल र सेवा सदन निर्माण गरिने छ । फागुन २५ गते स्वामीले नै श्री वेङ्कटेश मन्दिरको शिलान्यास गर्नुभएको छ ।
नारायण संहितामा उल्लेख भएको विष्वक्सेन महायज्ञमा नेपाल र भारतका करिब ७० जना ब्राह्मण गुरुको सहभागिता रहेको छ । नवकुण्डात्मक महायज्ञमा पाञ्चरात्र आगम विधिअनुसार महायज्ञ भइरहेको छ । शास्त्रीय मान्यता अनुसारका हवनीय वस्तुको महायज्ञमा प्रयोग गरिरहेको वाल्मीकि विद्यापीठका प्रा डा पद्मप्रसाद भट्टराईले जानकारी दिनुभयो । महायज्ञमा स्थानीय गाईको घ्यु नै प्रयोग भइरहेको छ ।
महायज्ञमा शुक्ल यजुर्वेद, कृष्ण यजुर्वेद र सामवेद, रामायण लगायत ग्रन्थको पाठ पारायण पनि भइरहेको छ । पाँच दिनको यो कार्यक्रममार्फत वेद विद्याको रक्षा गर्ने मुख्य उद्देश्य राखिएको छ । महायज्ञमा श्री वेङ्कटेश मन्दिर निर्माणका लागि विनोद मोर एकै जनाले रु २५ लाख सहयोग गर्नुभएको जानकारी पनि उहाँले दिनुभयो ।
जीयर शैक्षिक संस्थाअन्तर्गत विकास निर्माणका काममा विकास तरङ्गिणी नामक संस्थाले काम गरिरहेको संयोजक उमा भट्ट पराजुलीले बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको नन्दी रात्रि माध्यमिक विद्यालयको भवन पनि करिब रु दुई करोडको लागतमा संस्थाले नै निर्माण गरिदिएको जानकारी पनि उहाँले दिनुभयो । देशभर यस्ता सेवाका अन्य काम पनि गरिने जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्