बालबालिकासम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तयार

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका सम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तयार पारेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालले संयुक्त रुपमा आज काठमाडौँमा बालबालिका सम्बन्धी राष्ट्रिय नीतिको मस्यौदामाथि परामर्श कार्यक्रममा महिला, मन्त्रालयका सचिव डिल्लीराम शर्माले हाल छलफलको क्रममा रहेको बालबालिका सम्बन्धी राष्ट्रिय नीतिको मस्यौदामाथि बालबालिकाको क्षेत्रमा काम गरिरहेको विविध संस्था, व्यक्तित्वको सुझावपछि मस्यौदा संसदमा छलफलका पेश गरिने बताउनुभयो ।
उहाँले यस अघि बालबालिकाको सर्वाङ्गीण विकासका लागि बनेको बालबालिका ऐन–२०७५, बालबालिका सम्बन्धी नियमावली–२०७८ को कार्यान्वयनको लागि समेत सहयोग पुग्ने गरी हाल छलफलका क्रममा रहेको बालबालिका सम्बन्धी राष्ट्रिय नीतिमा आफ्नो विज्ञताको आधारमा सुझाव दिन बालबालिका सम्बन्धी काम गरिरहेका संस्थाहरूको प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सह–सचिव यामलाल भुसालले बालबालिका सम्बन्धी राष्ट्रिय नीतिको मस्यौदाबारे जानकारी दिँदै यौनिक अल्पसङ्ख्यक बालबालिका सम्बन्धी खण्डिकृत तथ्याङ्क तयार गर्नुपर्ने, सार्वजनिक भौतिक पूर्वाधार बालमैत्री हुनुपर्ने, बालबालिकाले स्वास्थ्य, शिक्षा, हक अधिकारको प्रवद्र्धनका लागि बालबालिका सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनले निर्देश गरेको संरचना तीनै तहको सरकारले बनाउनुपर्नेलगायत १६ विषय नीतिको मस्यौदामा समेटिएको बताउनुभयो ।
यस अवसर राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसालले बालबालिकाको क्षेत्रमा काम गर्न राम्रा ऐन, नियमावली, कार्ययोजनाहरु बनेपनि कार्यान्वयनको तहसम्म पुग्दा बजेट अभावकै कारण काम गर्न कठिन हुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले बालबालिका सम्बन्धी राष्ट्रिय नीतिमा मानव बेचबिखन विरुद्धको महासन्धि पार्लेमो प्रोटोकलले निर्देश गरेका बुँदा समेट्नुपर्ने, यस नीति कार्यान्वयनका लागि विभिन्न मन्त्रालयका सचिवलगायत कर्मचारीलाई पदेन सदस्य राख्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्