मुख्यमन्त्री कमलबहादुर शाह फागुन १७ गते विश्वासकाे मत लिने तयारीमा
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन १७ गते विश्वासको मत लिनुहुने गरि तयारी थाल्नु भएको छ ।
मुख्यमन्त्री शाह यही फागुन १७ गते प्रदेश सभामा विश्वासको मत लिने तयारीमा रहनु भएको उहाँको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि मुख्यमन्त्री शाहले दलका शीर्ष नेतृत्व देखी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी तथा नेकपा माअाेवादी केन्द्र र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफल गर्नुभएको छ ।
यसैगरी मुख्यमन्त्री शाहले आइतबार साझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । विश्वासको मत लिनका लागि सभामुख देखि सरोकारवाला निकायसँग मुख्यमन्त्री शाहले आवश्यक परामर्श गर्नुभएको छ, फागुन १७ गते विश्वासको लिने तयारीमा उहाँ हुनुहन्छ, समय निर्धारण प्रदेश सचिवालय गर्छ होला, मुख्यमन्त्रीका राजनीति सहयोगी रामबहादुर विष्टले भन्नुभयो ।
संविधानको धारा १६८(३) बमोजिम माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका उहाँले फागुन २६ गते भित्र विश्वासको मत लिई सक्नु पर्ने हुन्छ । नेपाली काँग्रेस र नेकपा एसका गरि २३ जना प्रदेश सभा सदस्यको समर्थन प्राप्त मुख्यमन्त्री शाहलाई विश्वासको मत पाउन कम्तीमा २७ जना आवश्यक पर्छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा काँग्रेस १९, एमाले १०, माअाेवादी केन्द्र (सभामुख सहित ) ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहनुभएको छ ।
भेटवार्ता र छलफलमा केन्द्रित रहनु भएका मुख्यमन्त्री शाहले प्रदेश सभामा विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको र फेरिएको केन्द्रिय राजनीति समीकरणले विश्वासको मत पाउन थप सहज भएको बताउनुभयो । मुख्यमन्त्री शाहलाई माअाेवादी केन्द्र र नागरिक उन्मुक्तिले विश्वासको मत दिएमा एस तथा काँग्रेस सहित गरि ४० जनाकाे समर्थन प्राप्त हुनेछ ।
यस अघि मुख्यमन्त्रीमा नियुक्त नेकपा एमालेका राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत पाउन असफल भएपछि एक महिना भित्रै पदबाट राजीनामा दिनु भएको थियो । एमाले, माअाेवादी केन्द्र, नागरिक उन्मुक्ति, राप्रपाका गरि २९ जनाकाे समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएका रावललाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएको थिएन ।








प्रतिक्रिया राख्नुहोस्