तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति हुने अवस्था आए पार्टीले उपयुक्त उम्मेदवार दिन्छ : अध्यक्ष नेपाल 

धनगढी  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिलाई सहमतिको दिशामा अघि बढाउने जिम्मेवारी प्रधानमन्त्रीको काँधमा रहेको बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिमा दलहरूका बीच राष्ट्रिय सहमति खोजिनु उपयुक्त हुनेछ भन्दै उहाँले नेकपा एस राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले राष्ट्रपति हुने अवस्था आयो भने पार्टीले उपयुक्त उम्मेदवार दिने पनि बताउनुभयो । 

कारागारमा रहनुभएका रेशम चौधरीलाई रिहाइ गर्नुपर्छ भनेर आफूले पहिलेदेखि भन्दै आएको उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले चाँडै रेशमको रिहाइ गर्न सरकारसँग माग गर्नुभयो । 

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सबै दललाई समेटेर लैजानु पर्नेमा जोड दिनुहुँदै जसपा लगायतका दलसँग सहकार्य, मोर्चा, एकता गरि तीन चरणका विषयमा छलफल अघि बढिरहेको जानकारी दिनुभयो । 

अध्यक्ष नेपाल धनगढीमा आयोजित पार्टी प्रशिक्षण तथा बैठकमा सहभागी हुन यहाँ आईपुग्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button