टेलिकमको ‘एफटीटीएच’ सेवा कर्णालीका ४ जिल्लामा

सुर्खेत । नेपाल टेलिकमको ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवा कर्णालीका ४ जिल्लामा पुगिसकेको छ ।
एउटै केवलबाट उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस तथा टेलिभिजन सुविधा प्रयोग गर्न सकिने ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवा कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा पुर्याईसकिएको टेलिकम प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
ल्याण्डलाइन नभए पनि इनटरनेट तथा टीभी सेवा सञ्चालन हुने भएकाले (एफटीटीएच) सेवा उपभोक्ताको रोजाइमा पर्न सफल भएको हो ।
एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपलप्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी बन्दै गईरहेको छ ।
उपभोक्ताको माग बढ्दै गईरहेकाले प्रदेशका बाँकी ६ जिल्लामा ‘एफटीटीएच सेवा’ विस्तारमा तीव्रता दिईएको टेलिकम प्रादेशिक कार्यालय प्रमुख मिलन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले छिट्टै रुकुम पश्चिम, कालिकोट र जुम्लामा ‘एफटीटीएच सेवा’ विस्तारको काम अन्तिम चरणमा पुगिसकेकाले चालु आर्थिक वर्षभित्रै सञ्चालनमा आउने बताउनुभयो ।
उहाँका अनुसार डोल्पामा ‘एफटीटीएच सेवा’ सञ्चालनका लागि सर्बे प्रक्रिया पुरा गरि पाइपलाइनमा रहेको छ । प्रदेशको हुम्ला र मुगु जिल्लामा मात्र माइक्रो वेवबाटै टेलिफोन सेवा सञ्चालन रहेकाले सडक तथा विद्युतको पहुँच विस्तार हुनेवित्तिकै ‘एफटीटीएच सेवा’ सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।
हाल कर्णाली प्रदेशभरी २ सय ४१ वटा बीटीएस टावर रहेकोमा चालु आर्थिक वर्षभित्रै थप ९१ वटा नयाँ टावर थपेर प्रदेशका सबै वडा–वडामा फोरजी सेवा सञ्चालनमा ल्याउने तयारी भईरहेको टेलिकम कर्णाली प्रादेशिक कार्यालयका उपप्रबन्धक (प्राविधिक प्रमुख) राजन शर्माले बताउनुभयो ।
उहाँले पहिलेको भन्दा अपेक्षाकृत तीव्रतर गतिले काम अघि बढेको भएपनि बेलाबखत आउने प्राकृतिक व्यवधानसँगै विद्युत तथा सडक कार्यालय जस्ता निकायसँगको समन्वय ढिलाईले समस्या हुने गरेको जनाउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा १० वटा बीटीएस टावरमा विद्युतीकरण भईसकेको र थप १० वटामा विद्युतीकरणका लागि काम भईरहेको छ । अहिले कर्णालीमा ५० प्रतिशत बीटीएस टावरमा सुधार गरिएपनि दुर्गमका जिल्लाहरुमा अझै विद्युत, सडक पहुँच र कम जनशक्तिका कारणले सोचेजति प्रगति हुन नसकेको उहाँको भनाइ छ ।
प्रदेशभरी पछिल्लो ६ महिनामा ५० हजार बढी सीमकार्ड विक्री भएका छन् । त्यस्तै आईपीटिभी, लिजलाईन, एफटीटीएच गरि कुल १ हजार २ सय ५९ थान विक्री गरिएको कार्यालयले जनाएको छ ।
प्रदेशमा विद्युतीकरण ढिलाईले २ सय ४१ मध्ये १ सय ३९ वटा बीटीएस टावरमा अझै सोलार, जेनेरेटर र स्थानीय हाईड्रो पावरबाटै बीटीएस टावर रिचार्ज गर्नुपर्ने बाध्यता कायमै रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्