तपाईँ सुन्दै हुनुहुन्छः

अयोध्यामा बन्ने राममन्दिर निर्माण समितिलाई नेपालको देवशिला हस्तान्तरण 

जनकपुरधाम । नेपालको पवित्र कृष्ण गण्डकी नदीबाट झिकिएको देवशिला  भारतको उत्तर प्रदेशको अयोध्यामा निर्माण हुने राममन्दिर निर्माण समितिलाई आज हस्तान्तरण गरिइएको छ । 

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार कृष्ण गण्डकीबाट झिकेर जनकपुरधामको जानकी मन्दिरमा ल्याएर विशेष पूजा अर्चना गरि बाजागाजा तथा झाँकीसहित उत्तर प्रदेशकै गोरखपुर भएर गएराति अयोध्या पुर्‍याइएको थियो । उक्त देवशिला राममन्दिर निर्माण समितिलाई आज एक विशेष कार्यक्रममार्फत हस्तान्तरण गरिएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशद दास वैष्णव सहितको उपस्थितिमा रामजन्म भूमि मन्दिर निर्माण समितिका महासचिव चम्पत्त रायलाई उक्त देवशिला आज हस्तान्तरण गरिएको छ । 

गण्डकी प्रदेशको म्याग्दी जिल्लाको बेनी नगरपालिकामा पर्ने कृष्ण गण्डकीबाट देश शिला क्रेनको मद्दतले झिकेर नेपालको अन्य धार्मिक स्थलहरू हुँदै जनकपुरधाम ल्याएर एक दिन सर्वसाधारणको पूजा अर्चनापछि माघ १६ गते जनकपुरधामबाट जटही नाका हुँदै भारतको अयोध्या लगिएको थियो । 

रामजन्म भूमि मन्दिर निर्माण समितिलाई हस्तान्तरण गरिएको सो देवशिलाबाट   भारतको अयोध्यामा बन्ने राम मन्दिरमा भगवान् रामको ७ फिटको मुख्य प्रतिमाको सहितका अन्य प्रतिमाहरू निर्माण हुने भएको छ । 

मुख्य मूर्तिका लागि ३२ टनको ठूलो देवशीला, लक्ष्मण तथा माता जानकीको प्रतिमा निर्माण गर्नका लागि १८ टनको मझौला देवशिला र भगवान् रामको बाल स्वरूप निर्माण गर्नका ४ टनको अर्को एक देवशिला तथा अन्य १ वटा साना गरेर ४ वटा देवशिला हस्तान्तरण गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । 

भगवान् विष्णुको स्वरूप मानिएको दुर्लभ शालिग्राम पाइने विश्वका एक मात्र नदी कृष्ण गण्डकी भएकाले भारतको अयोध्यामा बन्ने राम मन्दिर निर्माण समितिले सो ठाउँबाट देवशिला पाउनका लागि जनकपुरधामको जानकी मन्दिरमार्फत नेपाल सरकारसमक्ष माग भएपछि नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट सो देवशिला कृष्ण गण्डकीबाट झिकिएर जानकी मन्दिरलाई उपलब्ध गराएपछि मन्दिरका महन्थ दासले राममन्दिर निर्माण समितिलाई हस्तान्तरण गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button