गाउँमा विद्युत् पुग्ने भएपछि स्थानीय खुसी

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा बिजुली पुग्ने भएपछि स्थानीय खुसी भएका छन् ।
बुलिङटार गाउँपालिकाको बोझा पोखरीमा विद्युत् सबस्टेशन निर्माण सम्पन्न भएसँगै अब गाउँमा उज्यालो हुने भयो भन्दै स्थानीय खुसी भएका हुन् ।
“अब विद्युत् आएपछि त उज्यालो मात्र होइन, यस क्षेत्रका स्थानीय सञ्चारसँग पनि सहज रुपमा जोडिन पाउँछन् । अन्य विकासका सम्भावना पनि बढ्छ ।”, बुलिङटारका पूर्ण थापाले भन्नुभयो ।
राष्ट्रिय प्रसारण लाइनको विद्युत् नहुँदा स्वास्थ्य केन्द्रमा उपकरण चलाउनका लागि समस्या हुने गरेको छ । “अब विद्युत् आएपछि त सहज हुन्छ । सोलार र जेनेरेटरबाट चलाउनुपर्दा महँगो परेको छ ।” डेढगाउँ स्वास्थ्य चौकीका प्रमुख मेख बहादुर ठाडाले भन्नुभयो ।
तनहुँ तर्फबाट लाइन तानेर केही क्षेत्रमा विद्युतीकरण गरिएको छ । कतिपय स्थानमा लघुजल विद्युत्बाट विद्युतिकरण गरिएको भएपनि आवश्यक माग अनुसार आपूर्ति हुन सकेको छैन । साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गर्दा यस क्षेत्रका बासिन्दा सधैँ मर्कामा पर्दै आएका छन् ।
बोझा पोखरीमा विद्युत् सबस्टेशन निर्माण कार्य पुरा भएपछि जिल्लाका तीन वटा पालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । पहाडी पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोटको विभिन्न क्षेत्रमा अब विद्युत् पुग्ने छ ।
वि.सं.२०७३ सालमा तीन वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरि जिल्लाको पहाडी क्षेत्र बोझा पोखरीमा विद्युत् सबस्टेशन निर्माणको काम सुरु गरिएको थियो ।
पहिलो सम्झौता अनुसार विसं २०७५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर त्यस अवधिमा जम्मा ५ प्रतिशत काम मात्रै भएर झण्डै रुग्ण आयोजनाको रुपमा परिणत भएको सबस्टेशन निर्माण कार्य पटक पटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब चार वर्ष पछि निर्माण सम्पन्न भएको हो ।
अब बोझा पोखरीको सबस्टेशन निर्माणको काम सकिएकाले जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहजता हुने नेपाल विद्युत् प्राधिकरण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बुटवल डिभिजनका सहायक प्रबन्धक विनोद पन्थीले बताउनुभयो ।
भारतीय एटुजेड ईन्फ्रा इन्जिनियरिङ कम्पनीमार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिङले करिब रु. १२ करोडको लागतमा सबस्टेशन निर्माणको जिम्मा पाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्