अलैँचीले बजार भाउ नपाउँदा किसान मारमा
सल्यान । अलैँचीले बजार भाउ नपाएपछि सल्यानका किसानले सस्तो मूल्यमै बिक्री गर्न बाध्य भएका छन् । गत वर्ष गाउँमा १ हजार १ सय रुपैयाँ प्रतिकिलोसम्म मूल्य पाएको अलैँची यस वर्ष ५ सय रुपैयाँमा किसान बिक्री गर्न बाध्य भएका छन् ।

बजार भाउ कुरेर बसेपनि घर व्यवहार चलाउनकै लागि सस्तोमा बिक्री गर्नुपरेको कुमाख गाउँपालिका ६ गोलकपुरका किसान चन्द्र वलीले बताउनुभयो । २०७२ सालदेखि व्यावसायिक अलैँची खेती गर्दै आउनुभएको वलीले आफूले उत्पादन गरेको २ सय ६९ किलो अलैँची ५ सय ६० का दरले बिक्री गर्न बाध्य भएको बताउनुभयो । गर्त वर्ष २ सय ४० किलो बिक्री गरेर २ लाख ६५ हजार आम्दानी गर्नुभएका उहाँले यस वर्ष बजार मूल्य नहुँदा १ लाख ५० हजार मात्र आम्दानी भएको बताउनुभयो ।
गत वर्षको अनुपातमा यस वर्ष अलैँची उत्पादन पनि कम भएको अर्का किसान हरिराज सिंह राठोरले बताउनुभयो । यस वर्ष ७ सय रुपैयाँ किलोमा बिक्री गरेको उहाँको भनाई छ । उहाँका अनुसार यस वर्ष उत्पादन र बजार मूल्य दुवै घटे । उत्पादन घटे पनि अहिले अलैँची कौडीको भाउमा बिक्री गर्नुपर्ने अवस्था आएको छ ।
पहाडी भू भागमा वर्षातको समयमा बढी मात्रामा पानी पर्ने र हिउँदको समयमा बढी तुसारो र खडेरी पर्ने गरेकाले पनि अलैँची खेती लगाउने किसानहरूको आम्दानी मौसम अनुसार घटबढ हुने गरेको अर्का किसान हरि बहादुर बुढाथोकीले बताउनुभयो । सुरुमा घरघरमै आउने व्यवसायी मूल्य घटेसँगै खरिद गर्न आउन छाडेको उहाँको भनाई छ ।
जिल्लामा १५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्लाभर १५ हेक्टर क्षेत्रफलमा १७ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका मुकुन्द शर्माले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्