तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : नेपाल विश्वविद्यालय विधेयक २०७९ पेस

काठमाडौँ । राष्ट्रियसभा आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०७९ पेस भएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्र मन्त्री डा विमला राई पौडेलले नेपाल विश्वविद्यालय विधेयक २०७९ सभासमक्ष पेस गर्नुभएको हो । 

विधेयक पेश गर्नुहुँदै परराष्ट्र मन्त्री पौडेलले सूचना र प्रविधिको विकाससँगै चल्न सक्ने र देशको विकासका लागि ठोस योगदान दिन सक्ने विश्वविद्यालय स्थापना जरुरी भएको बताउनुभयो ।

यसअघि राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभएको थियो  ।

यस्तै, बैठकले अध्यक्ष तिमिल्सिनाले सांसद मृगेन्द्रकुमार सिंह यादवलाई दिगो विकास तथा सुशासन समितिको सदस्यमा मनोनयनका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ  । 

यसअघि राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरुले माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाको अध्ययन प्रतिवेदन समयमै सार्वजनिक गरी आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउन माग गर्नुभयो । 

बैठकमा बोल्दै सांसदहरुले हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउन सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । 

यस्तै सांसदहरूले मुलुकमा गरिबी र बेरोजगारीको फाइदा उठाउँदै विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने समूह सक्रिय भईरहको प्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रियसभाको अर्को बैठक माघ १० गते १ः०० बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button