तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय टी–ट्वान्टी महिला क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । इटहरीमा शनिबार कर्णाली प्रदेशलाई ९८ रनले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो ।

लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली १८ ओभर १ बलमा अलआउट हुँदै ४९ रनमा समेटियो ।

कर्णालीका यमुना थारुले १३ रन जोडिन । किरण कुँवरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । कर्णालीका ६ खेलाडी शून्य रनमा पेभेलियन फर्किएका थिए ।

लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३/३ विकेट हात पारे । सुस्मिता भुसालले २ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन् । सरस्वती पुनले अविजित ३० रन बनाइन् । आश्मा पुलामी मगरले १४ रन जोड्दा रन्जु श्रेष्ठले १० रन जोडिन ।

कर्णालीका यमुना थारु र बिना थापाले २/२ विकेट हात पारिन् । जितसँगै लुम्बिनीले १ खेलमा २ अङ्क जोडेको छ । लुम्बिनी समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button