सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो
लाहान । सिरहाको मिर्चैया–३ मा रहेको विद्यालयमा अध्ययनरत एक जना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर बिरामी हुनुभएकी सगरमाथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो ।
शनिबार राति १२ बजे उपचारको क्रममा फूलबारी मेमोरियल अस्पतालमा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिनुभयो ।
छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन् । आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी समेत गरेका थिए ।
आक्रोशित आन्दोलनकारी अनियन्त्रित भएपछि भीडलाई तितरबितर बनाउन तीन सेल अश्रु ग्यास र पाँच राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिनुभयो ।
गत शुक्रबार सामान्य पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिलाउँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताउनुभयो ।
स्प्रिट पिएपछि बिरामी भएकी सृजनालाई उपचारको नगरी विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पु¥याएकाले समयमै उपचार हुन नसकेको उहाँले बताउनुभयो ।
“प्रिन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीवेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्यौ”, उहाँले भन्नुभयो, “अवस्था खराब हुँदै गएपछि अस्पताल पुर्यायौँ तर ढिला भइसकेको रहेछ ।”
औषधि दिने शिक्षिका लम्साल र प्रिन्सिपल तिवारी प्रहरीको नियन्त्रणमा
प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ । ्
मृतकका बुबा धर्मेन्द्रले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिनुभएको छ । जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
डिएसपी वलीले घटना सम्बन्धमा छानबिन भइरहेको बताउनुभयो । “विद्यालयले पनि घटना स्वीकार गरिसकेको छ, स्प्रिट पिउने अवस्था कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ”, उहाँले भन्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्