तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका पत्रकार र सञ्चार माध्यम आर्थिक रुपमा कमजोर बन्दै

जनकपुरधाम । मधेश प्रदेशका पत्रकार तथा सञ्चार माध्यमहरूको आर्थिक अवस्था निक्कै कमजोर भएको जनकपुरधाममा आज आयोजित कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ ।

मधेश मिडिया काउन्सिलले आज जनकपुरधाममा आयोजना गरेको ‘पत्रकार, सञ्चार माध्यमको अवस्था र आचार संहिताको अवस्था’ विषयक कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारिता क्षेत्रमा बढेको विकृति, विसङ्गतिका कारण वास्तविक पत्रकारहरूको पेशा नै जोखिममा परेको बताउनुभयो ।

विभिन्न सञ्चार माध्यममा कार्यरत रहेका पत्रकारहरूले पत्रकारिता जगतको लागि राज्यको ठोस नीति नभएका कारण जथाभाबी खुलेका सञ्चार माध्यमको नियमन हुन नसकेको बताउनुभयो । दर्ता भएका सञ्चार माध्यमहरूमा आवश्यक आम्दानी नभएकाले पत्रकारहरूले न्यूनतम पारिश्रमिक पनि पाउन नसकेको दुखेसो गर्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार कर्णले पत्रकारिता क्षेत्रमा पत्रकारहरूको सङ्ख्यात्मक वृद्धि भए पनि गुणात्मक वृद्धि नभएको र जनताको पक्षमा खोज पत्रकारिता गर्नेहरुको सङ्ख्या ज्यादै थोरै भएको बताउनुभयो ।

गोरखापत्र दैनिकका मधेश प्रदेशका संयोजक धिरेन्द्र साहले पत्रकारिता जोखिमको पेशा भएको बताउँदै आचार संहिताको पालना गरेको खण्डमा जोखिम कम हुने बताउनुभयो ।

सञ्चार माध्यमका सञ्चालकहरूले सञ्चार माध्यमको आम्दानी निकै घटेका कारणले सञ्चालनमा नै समस्या भएको बताउनुभयो ।

मिथिलाञ्चल एफ एममा कार्यरत आरती मण्डलले आम्दानी नै कम भएकाले समाचारको बुलेटिन नै कम गरिएको जानकारी दिनुभयो ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button