तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेट

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

उहाँहरुबीच एकीकृत समाजवादीबाट समर्थनसहित सरकारमा सहभागिता, विश्वासको मतलगायत विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँ विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button