तपाईँ सुन्दै हुनुहुन्छः

निस्दी गाउँपालिकाबाट दुई करोड बराबरको अम्रिसो निकासी

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाबाट यसवर्ष २ करोड बराबरको अम्रिसो कुचो निकासी हुने भएको छ ।

निस्दी गाउँपालिका –३, झिरुबासको काउलेडाँडामा उत्पादित अम्रिसोको कुचो बुटवल, पोखरा, चितवन, तथा काठमाडौँसम्म निर्यात हुने गरेको छ । 

२ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसोबाट झिरुबासको सँगै निस्दीकै पहिचान र गौरव बढाएको छ । भने पर्यटन विकासमा समेत टेवा पुर्‍याएको छ । 

गत वर्ष यहाँका किसानले कुचोबाट २ करोड बराबरको आम्दानी लिन सफल भएको र यसवर्ष पनि त्योभन्दा कम नहुने स्थानीय उपभोक्ता राम बहादुर पाटाले बताउनुभयो । 

इलामको चिया बगान जस्तै देखिने अम्रिसो खेती काउले डाँडामा घुम्न आउनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । काउले डाँडामा आएपछि अम्रिसोको संसार देख्न पाइन्छ । जतासुकै अम्रिसो नै अम्रिसोको घारीले ढाकेको छ । 

विक्रम संवत् २०६७ सालमा कबुलियती वन समूह दर्ता गरेर अम्रिसो लगाएको काउले डाँडा कबुलियती वन अन्तर समूहका अध्यक्ष दमन सिंह थापाले बताउनुभयो । सुरुमा १ सय १५ हेक्टर क्षेत्रमा २ सय १५ घरधुरी मिलेर अम्रिसो लगाएको अध्यक्ष थापाको भनाइ छ । 

हाल यो वन २ सय ४६ हेक्टरमा फैलिएको छ । झिरुबासका २ सय २७ घरधुरी आबद्ध रहेका छन् । विभिन्न १८ वटा उप समूह मिलेर काम गर्दै आएको छ । 

अम्रिसोले कालो तथा बलौटे माटो रुचाउने भएकोले मध्य पहाडी क्षेत्र बढी उपयुक्त देखिने निस्दी सव डिभिजन बन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभएको छ । 

अम्रिसोबाट धेरै आम्दानी लिन समय–समयमा गोडमेल गर्ने, मुना पलाउने समयमा मुसाबाट जोगाउन र मलको मात्रा पूर्ति गर्न नियन्त्रित आगो लगाउँदा राम्रो हुने अधिकारीको भनाइ छ । 

अम्रिसोको गुच्छे जरा हुने हुँदा माटो बग्न नदिई भू–संरक्षणको लागि समेत उपयुक्त हुने अधिकारीले बताउनुभएको छ ।

काउले डाँडाको आन्तरिक पर्यटन प्रवर्द्धनको लागि पालिकाले डीपीआर सहितको विशेष योजना अगाडि सरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । 

काउले डाँडाले निस्दीको आन्तरिक पर्यटन प्रवर्द्धनमा मात्रै टेवा पुर्‍याएको छैन । यहाँको जीवनस्तर नै परिवर्तन गरिदिएको छ । आम्दानीको मुख्य स्रोत नै अम्रिसो बनेको अध्यक्ष सारुको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button