तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको सञ्चार: घाम नलाग्दासम्म सधैँ टेलिफोन अवरुद्ध

जुम्ला । तातोपानी गाउँपालिका –४ गिडीखोला गाउँका भक्तबहादुर सार्की हातमा स्मार्ट फोन भएर पनि ढुक्कले फोन गर्न पाउनुहुन्न । गाउँमा घाम नलागेसम्म फोन पनि नलाग्ने र खबर आदानप्रदान गर्न नपाउने समस्याले स्थानीय आजित भएका छन् ।

file photo

गाउँ गाउँमा टेलिफोन टावर निर्माण भएका छन् । तर, घाम नलागेसम्म ती टावरहरूले काम गर्दैनन् । घाम लागेर ब्याट्री चार्ज भएपछि मात्रै गाउँमा टावरले काम गर्छ । बिहान र बेलुका जुम्लाका अधिकांश गाउँ सञ्चारविहीन हुन्छन् ।

फोन गर्न घाम कुर्नुपर्ने वर्षौँदेखिको बाध्यता अन्त्य नभएको भक्त सार्कीको गुनासो छ । तातोपानी जिल्ला सदरमुकाम र कर्णाली राजमार्गसँगै जोडिएको सुगम पालिका भए पनि नेपाल टेलिकमको सेवा गुणस्तरीय नहुँदा दुर्गम झैँ भएको छ ।

तातोपानी गाउँपालिका–४, ५, ६ वडामा पर्ने गिडीखोला, नियापानी, पर्थेनि, पाण्डेवाडा, हाँकु, गौतमवाडा, हियाखोला, एैरेनी, लाम्रा, श्रीनगर, गाउँ बस्तीका नागरिकले डेढ वर्षदेखि यो समस्या भोग्दै आएका छन् ।

यस्तै जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका–८, ९, १० वडामा पर्ने खल्लागाउँ, सिलाम, बारकोटेवाडा, उमगाड, श्रीढुष्का, तलिउम, माझउम, जातिभिड लगायत बस्तीले पनि वर्षौँदेखि टेलिफोन सेवाको समस्या भोग्दै आएको स्थानीय सम्राट दमाईले बताउनुभयो ।

त्यस्तै, तिला, पातारासी, कनकासुन्दरी, गुठिचौर सिञ्जाका दुर्गम बस्तीमा सञ्चार असुविधा वर्षौँदेखि रहँदै आएको छ । स्थानीय सरकारले पहल गरे पनि उपलब्धि देखिएको छैन ।

सञ्चार सेवा सुधार्न ध्यानाकर्षण
जुम्लाका ग्रामीण बस्तीका नागरिकले वर्षौँदेखि भोग्दै आएको सञ्चार समस्यालाई मध्यनजर गर्दै तत्काल सुधार गर्नका लागि ध्यानाकर्षण गराइएको छ । हाँकु, लाग्ना लगायतका थुप्रै टावरमा घाम लागेपछि मात्रै नेटवर्क आउने समस्या रहेकोले सुधार गर्न प्रशासन मार्फत ध्यानाकर्षण गराइएको तातोपानी गाउँपालिका ४ का वडाध्यक्ष अम्मर रोकायाले बताउनुभयो ।

आजको समयमा पनि निर्बाध रुपमा सञ्चार सेवा पाउने अधिकार सम्बन्धित निकायको लापरवाहीले कुण्ठित भएकोप्रति नागरिक अगुवा राजबहादुर महतले आपत्ति जनाउनुभयो । “राति कोही बिरामी हुन्छन् । सुत्केरी, गर्भवती महिला हुन्छन् । कुनै घटना घट्न सक्छ । यस्ता जटिल समस्या समाधान गर्न तत्काल एम्बुलेन्स, प्रहरी प्रशासनलाई खबर आदानप्रदान गर्नुपर्ने हुन्छ । यस्ता अति संम्वेदनशिल कामबाट यहाँका नागरिक बञ्चित छन् ।” उहाँले भन्नुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले टेलिफोन सेवा सुधारका लागि ध्यानाकर्षण भएको र पहल थाल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button