छरिएर रहेका ऐन र कानुनहरूलाई एकीकृत गर्ने काम शुरु : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनहरूलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताउनु भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको आज मन्त्रालयमा भएको एक कार्यक्रममा विमोचन गर्दै मन्त्री श्रेष्ठले भूमि तथा सहकारी सम्बन्धी छरिएर रहेका र पुराना कानुनहरूलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकूल बनाउने काम मन्त्रालयले शुरु गरिरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।

नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्य केन्द्रित सहकारी विकास गरेर जाने र समस्याग्रस्त सहकारीहरूको उचित व्यवस्थापन गरी आगामी दिनमा सहकारीहरूलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले सहकारीहरू आफ्नो उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिँदै यस अनुरुप चलेको थुप्रै सहकारीहरूले राष्ट्र हित र जनहितको पक्षमा राम्रो काम गरिरहेको पनि बताउनुभयो ।
उहाँले भूमिको उचित प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएर सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै त्यस तर्फे सहकारीहरू लाग्नु पर्नेमा जोड समेत दिनुभयो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानुनहरु पुराना भएकाले यसलाई समयानुकूल बनाउन आवश्यक रहेको औँल्याउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्